स्वर्गीय बुवाको सम्झनामा मानवसेवा आश्रममा राजशान्ति सुनार परिवारको अनुकरणीय सहयोग

theoutsidenepal.com

स्वर्गीय बुवाको सम्झनामा मानवसेवा आश्रममा राजशान्ति सुनार परिवारको अनुकरणीय सहयोग

सोह्र श्राद्धको अवसरमा खाद्यान्न सामग्री अर्पण गर्दै ‘सेवा नै सबैभन्दा ठूलो श्रद्धाञ्जली’को सन्देश

द टन न्युज ॥ विशेष रिपोर्ट

काठमाडौं । परदेशमा रहेर पनि मातृभूमि, समाज र मानव सेवाप्रतिको आफ्नो जिम्मेवारीलाई निरन्तर आत्मसात् गर्दै आउनुभएका राजशान्ति फाउन्डेसनका संस्थापक तथा समाजसेवी राजशान्ति सुनार र शान्ति सुनारले स्वर्गीय बुवा पूर्णबहादुर सुनारको स्मृति तथा सम्मानमा मानवसेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ।


स्थायी घर लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडार भई हाल बेलायतमा रहनुभएका राजशान्ति सुनार परिवारले सोह्र श्राद्धको पवित्र अवसरलाई केवल धार्मिक संस्कारमा सीमित नराखी मानव सेवासँग जोड्दै स्वर्गीय बुवाप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्नुभएको हो।

मानवसेवा आश्रममा पुगेर आवश्यक खाद्यान्न सामग्री सप्रेम अर्पण गर्दै सुनार परिवारले आश्रममा आश्रित मानवहरूको सेवामा आफ्नो साथ, सहयोग र सद्भाव निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


स्वर्गीय बुवा पूर्णबहादुर सुनारको सम्झनामा गरिएको यो सहयोगले पितृप्रतिको श्रद्धा केवल कर्मकाण्डमा नभई पीडित, असहाय र बेसहारा मानवको सेवामार्फत पनि अभिव्यक्त गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ।

राजशान्ति सुनार परिवारले स्वर्गीय बुवाको आत्माको चिरशान्ति तथा वैकुण्ठबासको कामना गर्दै भगवान्सँग विशेष प्रार्थना गरेको छ।

मानवसेवा आश्रमको सेवाकार्यलाई नजिकबाट अनुभूति गर्दै सेवा सहजताका लागि निरन्तर साथ, सहयोग र प्रेरणा प्रदान गर्दै आउनुभएका राजशान्ति सुनार, शान्ति सुनार तथा सम्पूर्ण सुनार परिवारप्रति आश्रमले हार्दिक आभार तथा साधुवाद व्यक्त गरेको छ।


यस मानवीय तथा पुण्य कार्यलाई सहजीकरण गर्न उपस्थित राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लमजुङका निवर्तमान अध्यक्ष तथा सञ्चारकर्मी अनुज अधिकारी र योगेश परियारप्रति पनि आयोजक पक्षले विशेष धन्यवाद व्यक्त गरेको छ।

परदेशमा रहेर पनि आफ्ना पुर्खा, जन्मभूमि र समाजसँगको सम्बन्धलाई सेवामार्फत जीवन्त राख्दै आएको सुनार परिवारको यो पहलले ‘जहाँ भए पनि मानवताको सेवा गर्न सकिन्छ’ भन्ने सन्देश दिएको छ।

मानवसेवा, सामाजिक उत्तरदायित्व र पारिवारिक संस्कारलाई एउटै सूत्रमा जोडिएको यस प्रकारको सहयोगले समाजमा सकारात्मक सोच र सेवाभाव विस्तार गर्न महत्वपूर्ण प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

स्वर्गीय पूर्णबहादुर सुनारप्रति भावपूर्ण श्रद्धाञ्जली।
उहाँको आत्माको चिरशान्ति तथा वैकुण्ठबासको कामना।
 


प्रतिक्रिया