सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपातसहित हिउँदे वर्षा, जनजीवन प्रभावित

theoutsidenepal.com
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ। मौसममा आएको परिवर्तनसँगै बैतडी, दार्चुला र डडेल्धुरालगायतका जिल्लाका उच्च पहाडी तथा लेकाली भेगहरूमा चिसो उल्लेख्य रूपमा बढेको छ।
बैतडी जिल्लाको खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका उच्च लेकाली क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार वर्षासँगै हिमपात भइरहेको भए पनि हालसम्म जिल्लाका प्रमुख राजमार्ग तथा सहायक सडकमा यातायात सञ्चालनमा कुनै अवरोध आएको छैन।
यसैगरी दार्चुला जिल्लाको व्यास र अपिहिमाल गाउँपालिकाका उच्च भेगहरूमा पनि हिमपात भएको छ। हिमपातका कारण ती क्षेत्रमा चिसो अत्यधिक बढ्नुका साथै स्थानीयवासीको दैनिकी प्रभावित भएको छ। लेकाली क्षेत्रमा पशुपालन र दैनिक आवतजावतमा समेत कठिनाइ देखिन थालेको स्थानीयहरूले बताएका छन्।

डडेल्धुरा जिल्लाका उच्च पहाडी तथा लेकाली क्षेत्रमा पनि हिउँदे वर्षासँगै हल्का हिमपात भएको छ। अमरगढी नगरपालिका आसपासका उचाइयुक्त स्थान तथा आलिताल र गन्यापधुरा गाउँपालिकाका लेकाली भेगमा चिसो बढेको छ। डडेल्धुरा हुँदै सञ्चालन हुने भीमदत्त राजमार्गलगायतका मुख्य सडकमा हालसम्म यातायात सहज रहेको सुरक्षानिकायले जनाएको छ।
हिमपात र वर्षाले चिसो बढाए पनि कृषकहरू भने उत्साहित देखिएका छन्। लामो समयदेखि खडेरीको समस्या झेलिरहेका किसानहरूका लागि यो वर्षा राहतको रूपमा आएको छ। विशेषगरी गहुँ, जौ, आलु र हिउँदे तरकारी खेतीका लागि यो वर्षा उपयोगी हुने अपेक्षा गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा अझै केही समय वर्षा र हिमपात जारी रहन सक्ने जनाएको छ। चिसो, कुहिरो र सम्भावित फिस्लो सडकका कारण उच्च पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन सुरक्षानिकायले आग्रह गरेका छन्

प्रतिक्रिया