अग्रजलाई सम्मान, युवालाई अवसर र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने कृष्ण पोख्रेलको धारणा
द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसका युवा नेता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेता कृष्ण पोख्रेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टी रूपान्तरण, पुस्तान्तरण र वैचारिक पुनर्जागरणको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
अर्घाखाँचीको बल्कोट स्थायी घर भई हाल अमेरिकामा रहेका पोख्रेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अग्रजको अनुभवलाई सम्मान, युवालाई अवसर र नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्नेमा जोड दिएका हुन्।
उनले महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यका रूपमा उम्मेदवारी दिएका सम्पूर्ण अग्रज, युवा तथा साथीहरूलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरेका छन्।
पोख्रेलका अनुसार १५औँ महाधिवेशनले पार्टीको संस्थागत सुदृढीकरण, लोकतान्त्रिक संस्कारको विकास र नेतृत्वमा नयाँ सोच स्थापित गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्नुपर्छ। व्यक्तिभन्दा विचार, पदभन्दा संगठन र व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
‘अग्रजको अनुभव, युवाको ऊर्जा’लाई नेतृत्वसँग जोड्नुपर्नेमा जोड
कांग्रेसलाई थप जनमुखी, जवाफदेही र गतिशील बनाउन अग्रजहरूको अनुभव तथा योगदानको सम्मान गर्दै युवाको ऊर्जा, नयाँ सोच र क्षमतालाई नेतृत्वसँग जोड्नुपर्ने पोख्रेलले बताएका छन्।
उनले प्रतिस्पर्धामा लोकतान्त्रिक संस्कार, नेतृत्वमा निष्ठा र राजनीतिक यात्रामा राष्ट्रहित तथा समृद्धिको संकल्पलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्।
नेपालको विकासमा एनआरएनएको भूमिका प्रभावकारी बनाउनुपर्ने
एनआरएनए नेतासमेत रहेका पोख्रेलले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि र अनुभवलाई नेपालको विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्।
सुशासन, विकास र समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपाली संघलाई प्रभावकारी साझेदार बनाउनुपर्ने बताउँदै उनले गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गर्न पनि जोड दिएका छन्।
‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने मान्यतालाई अघि सार्दै पोख्रेलले एनआरएनएका अधिकार सुनिश्चित गर्ने र मातृभूमिको समृद्धिमा विश्वभरिका नेपालीको योगदानलाई संस्थागत गर्ने अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
‘राष्ट्रहित सर्वोपरि, समृद्ध नेपाल हाम्रो साझा संकल्प’
पोख्रेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित हुने सम्पूर्ण नेतृत्वलाई शुभकामना दिँदै नयाँ नेतृत्वले पार्टीलाई थप सुदृढ बनाउने र नेपालको लोकतान्त्रिक भविष्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनको सन्देशमा पार्टीभित्र पुस्तान्तरण, वैचारिक स्पष्टता, संगठनप्रतिको निष्ठा र राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ।
नेपाली कांग्रेसको नेतृत्व चयनसँगै पार्टीको भावी दिशा र विदेशमा रहेका नेपालीको सहभागिता तथा अधिकारका विषयमा समेत बहस भइरहेका बेला पोख्रेलको सन्देशले पार्टी रूपान्तरण र मातृभूमिको समृद्धिमा प्रवासी नेपालीको भूमिकालाई जोड दिएको छ।
कृष्ण पोख्रेल
अर्घाखाँची–बल्कोट | हाल अमेरिका
जय नेपाल 🇳🇵 | जय एनआरएनए