नेपाली कांग्रेस बैतडीमा सबै तहमा निर्वाचन प्रचारप्रसार समिति गठन

theoutsidenepal.com

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै तहमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।


नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दका अनुसार निर्वाचनलाई प्रभावकारी बनाउन जिल्लास्तर, स्थानीय तह र वडास्तरसम्म प्रचारप्रसार समिति गठन गरिएको हो । उपसभापति बिरबहादुर बिष्टको संयोजकत्वमा २ हजार ५ सय २५ सदस्यीय जिल्लास्तरीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।


यस्तै जिल्लाका १० वटै स्थानीय तहमा पालिका सभापतिको संयोजकत्वमा ५ सय ५ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति शिवराज भट्टले जानकारी दिए । त्यस्तै ८४ वटै वडामा १ सय ५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको सहसचिव चन्दले बताए ।


प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्द उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएकाले पार्टी कार्यकर्ता उत्साहित भएको क्षेत्रीय सभापति भट्टको दाबी छ । पार्टीले बैतडीमा आफ्नो पुरानो साख पुनः स्थापित गर्ने लक्ष्यसहित सशक्त रूपमा चुनावी अभियान अघि बढाएको जिल्ला निर्वाचन प्रचारप्रसार समितिका संयोजक बिरबहादुर बिष्टले बताए ।


उनका अनुसार यस पटक कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । २०७९ सालको निर्वाचनमा माओवादीसँग चुनावी गठबन्धन गरेको कांग्रेसले यस पटक भने आफ्नै चुनाव चिन्ह रुखमा मतदान गर्ने अवसर पाएको भन्दै कार्यकर्तामा थप उत्साह देखिएको बिष्टले बताए ।


सबै तहका निर्वाचन प्रचारप्रसार समितिहरू आ–आफ्नो क्षेत्रमा सक्रिय रूपमा अभियानमा जुटिसकेका छन् । उम्मेदवार चन्दसहितको टोली घरदैलो अभियानमा खटिएको सहसचिव चन्दले जानकारी दिए ।


प्रतिक्रिया