आशिका तामाङद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा, Gen-Z को आवाज संसदसम्म पुर्‍याउने अठोट

theoutsidenepal.com

काठमाडौँ । समाजसेवी तथा Gen-Z अभियानमार्फत लोकप्रियता कमाएकी आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्।


पछिल्ला केही हप्तादेखि राजनीतिक यात्राबारे गम्भीर छलफल र आत्ममन्थनमा रहेकी तामाङले सरोकारवाला व्यक्तिहरूसँग प्रत्यक्ष संवाद, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण तथा विशेषगरी Gen-Z पुस्तासँग खुला छलफल गरेपछि दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णय लिएको बताएकी छन्।


उनले जनभावना बुझ्ने क्रममा सकारात्मक सुझावसँगै आलोचनात्मक तथा नकारात्मक प्रतिक्रिया पनि प्राप्त भएको उल्लेख गर्दै ती सबैलाई समान रूपमा सम्मान गर्ने बताइन्। “नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताले नै मलाई यो निर्णयतर्फ डोर्‍याएको हो,” तामाङको भनाइ छ।


समाजसेवी पहिचान बनाइसकेकी तामाङ Gen-Z आन्दोलनमा सक्रिय रहँदै युवाहरूका मुद्दा उठाउँदै आएकी छन्। विशेषगरी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको उपचार, सहयोग र सेवामा सक्रिय भूमिका खेलेको भन्दै उनी युवापुस्तामाझ लोकप्रिय छिन्। सडकदेखि सदनसम्म युवाहरूका सवाल सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्ने उनको धारणा छ।


“यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा होइन, नयाँ पुस्ताको सपना र देशको भविष्यका लागि हो,” भन्दै उनले युवाहरूको विश्वास कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेकी छन्।


उनको मुख्य अठोटमा युवा पुस्ताको भावनाको कदर, जनसरोकारका मुद्दा सडकदेखि सदनसम्म पुर्‍याउने, तथा भ्रष्टाचारविरुद्ध निरन्तर लडाइँ समेटिएको छ। भगवान श्री पशुपतिनाथको कृपा र जनताको साथलाई आफ्नो शक्ति मानेर अघि बढ्ने उनले बताइन्।


स्वच्छ, सचेत र जवाफदेही राजनीतितर्फको यात्रामा सबैको सुझाव, समर्थन र सहकार्यको अपेक्षा गर्दै आशिका तामाङले “हाम्री दिदीले हाम्रो आवाज बोल्नुहुन्छ” भन्ने विश्वासलाई व्यवहारमा उतार्ने अठोटसहित आफ्नो राजनीतिक यात्रा सुरु गरेकी छन्।


प्रतिक्रिया