नेपाली कांग्रेसभित्र खुला भिडन्त: विशेष महाधिवेशनमा देउवा–थापा आमनेसामने

theoutsidenepal.com

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर नेतृत्व तहमा खुलेआम टकराव देखिएको छ। एकातिर पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशन रोक्न हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ भने अर्कोतर्फ महामन्त्री गगन थापाले विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै कुनै हालतमा पछि नहट्ने स्पष्ट सन्देश दिएका छन्।


बिहीबार सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको माग अनुचित भएको निष्कर्ष निकाल्दै हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिलाई हस्ताक्षर फिर्ता लिन र विशेष महाधिवेशन भनिएको भेलामा सहभागी नहुन अनुरोध गर्ने निर्णय गरेको हो।


बैठकपछि नेता एनपी साउदले भने,


“पदाधिकारीले विशेष महाधिवेशन बोलाउने व्यवस्था विधानमा छैन। त्यसैले केन्द्रदेखि तल्लो तहसम्मका सबै पदाधिकारी, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई विशेष महाधिवेशन भनिएको भेलामा नजान आग्रह गरेका छौं।”


तर यो निर्णयसँगै पार्टीभित्रको विवाद झनै चर्किएको छ।



‘५४ प्रतिशत हस्ताक्षर फिर्ता हुँदैन’ – गगन थापा



कांग्रेस महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर भइसकेकाले अब फिर्ताको कुनै प्रश्न नउठ्ने स्पष्ट पारेका छन्। उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई पुस २७ गते हुने विशेष महाधिवेशनमा अनिवार्य सहभागी हुन आग्रह गरेका छन्।


थापाको भनाइ झनै आक्रामक छ—


“यहाँ बसेर फिर्ता लिनु भन्दा यो अधिवेशन हाम्रो हो भनेर स्वामित्व लिनु नै विधानको सम्मान हो। विशेष महाधिवेशन रोक्ने कुनै धारा विधानमा छैन।”



विधानको व्याख्या vs अपव्याख्या



कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको बताएका थिए। तर थापाले त्यसलाई विधानको अपव्याख्या भन्दै कडा प्रतिवाद गरे।


“केन्द्रले नबोलाएको बेला विशिष्ट आवश्यकता महसुस भयो भने महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न पाउने हक विधानले दिएको छ,” थापाको दाबी छ।



युवा असन्तोष र नेतृत्व परिवर्तनको एजेन्डा



थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको हल्ला अस्वीकार गर्दै भदौ २३ र २४ गते देखिएको युवा विद्रोह, असन्तोष र पार्टीको असफलतामाथि समीक्षा गर्नैपर्ने अवस्था आएको बताएका छन्।


“भदौ २२ को नेपाल र भदौ २५ को नेपाल एउटै छैन। नीति र नेतृत्व दुवै बदल्नैपर्छ,” उनले भने।


उनले दुई युवा महामन्त्रीको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिले आजको अवस्था आएको आरोपसमेत लगाए।


कांग्रेस मोडमा: संवाद कि विस्फोट?

एकातिर सभापति देउवा पक्ष विशेष महाधिवेशन रोक्न संगठित देखिएको छ भने अर्कोतर्फ महामन्त्री थापा पक्ष विधान, हस्ताक्षर र प्रतिनिधिको अधिकारको नाममा निर्णायक टकरावतर्फ अग्रसर छ।


प्रतिक्रिया