कैयौँ प्रहरी चौकी जलाएर संसद् पुगेकाहरू अहिले आईजीपीको राजीनामा माग्दैछन् : इश्वर दुलाल
काठमाडौं । लेखक इश्वर दुलालले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध भइरहेको आलोचना र राजीनामाको मागप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै दुलालले प्रहरी नेतृत्वमाथि लगाइएका आरोपले संगठनको मनोबल कमजोर पार्ने प्रयास भइरहेको दाबी गरेका छन्।
दुलालले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तत्कालीन उपत्यका प्रमुखको कमाण्डमा रहेका आईजीपी दानबहादुर कार्कीले जनतामाथि गोली नचलाउने आदेश दिएको दाबी गर्दै, त्यसकै कारण वर्तमान राजनीतिक परिस्थितिमा सरकार बन्ने वातावरण बनेको उल्लेख गरेका छन्।
उनले अहिले त्यही राजनीतिक परिवर्तनबाट बनेको सरकारका सांसदहरूबाट आईजीपी कार्कीमाथि आरोप लगाएर हटाउन खोजिएको भन्दै प्रश्नसमेत उठाएका छन्।
दुलालको स्टाटसमा भनिएको छ, ‘सिंहदरबार र प्रहरी चौकीहरू जलाएर संसद् बन्न सजिलो होला, तर आईजीपी बन्नलाई धेरै कडा मेहनत र योगदान चाहिन्छ।’
उनले आन्दोलनको माध्यमबाट संसद् पुग्न सकिने भए पनि प्रहरी महानिरीक्षकजस्तो संवेदनशील र सर्वोच्च व्यावसायिक पदमा पुग्न लामो समयको सेवा, अनुशासन, निष्ठा, क्षमता र योगदान आवश्यक पर्ने बताएका छन्।
दुलालले आईजीपी कार्की संगठनभित्रको लामो व्यावसायिक यात्राबाट नेतृत्व तहमा पुगेका प्रहरी अधिकृत भएको दाबी गर्दै उनलाई कुनै राजनीतिक पहुँच वा ‘सोर्सफोर्स’ का आधारमा आईजीपी बनाइएको नभएको जिकिर गरेका छन्।
उनका अनुसार नेपाल प्रहरी पूर्ण रूपमा ‘चेन अफ कमाण्ड’ मा सञ्चालन हुने संगठन भएकाले सडकको भीड, सामाजिक सञ्जाल वा कुनै समूहको दबाबका आधारमा प्रहरी प्रमुखले राजीनामा दिनुपर्ने अवस्था सिर्जना हुनु संस्थागत रूपमा गलत हुने उनको तर्क छ।
दुलालले प्रहरी महानिरीक्षकको पदको कानुनी तथा संस्थागत गरिमा कायम राखिनुपर्नेमा समेत जोड दिएका छन्। कुनै व्यक्ति वा समूहले सडक वा सामाजिक सञ्जालमार्फत राजीनामा माग्दैमा प्रहरी प्रमुखले पद छाड्नुपर्ने अवस्था नहुने उनको भनाइ छ।
देश बाढी तथा अन्य प्राकृतिक विपत्तिको सामना गरिरहेको अवस्थामा नेपाल प्रहरीका हजारौँ सुरक्षाकर्मी उद्धार, राहत र पुनःस्थापनामा खटिरहेको उल्लेख गर्दै दुलालले यस्तो अवस्थामा प्रहरी नेतृत्वमाथि निरन्तर आरोप–प्रत्यारोप हुँदा त्यसको प्रत्यक्ष असर संगठनको मनोबलमा पर्न सक्ने बताएका छन्।
उनले सांसद खगेन्द्र सुनारले आईजीपी कार्कीमाथि गलत आरोप लगाएर प्रहरी संगठनको मनोबल कमजोर बनाउने काम गरिरहेको आरोपसमेत लगाएका छन्।
यद्यपि, दुलालले सामाजिक सञ्जालमा व्यक्त गरेका यी दाबी तथा आरोपहरू उनका व्यक्तिगत धारणा हुन्। आईजीपी कार्की वा सांसद खगेन्द्र सुनारको यस विषयमा आधिकारिक प्रतिक्रिया भने यस स्टाटसमा समेटिएको छैन।