शहीदका सपना पुरा गर्ने समय आएको छ : बालेन्द्र शाह

theoutsidenepal.com

काठमाडौं — रास्वपा का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले शहीद दिवसको अवसरमा शहीदहरूको बलिदानलाई स्मरण गर्दै सुशासन र भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि दृढ प्रतिबद्धता जनाएका छन्।


सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको उल्लेख गरेका छन्।


बालेनले त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भए पनि राज्य जनताको बन्न नसकेको र त्यसपछिका वर्षहरूमा पनि नेपाली जनताले निरन्तर संघर्ष गर्नुपरेको उल्लेख गरेका छन्। उनका अनुसार, ८५ वर्षमा पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र भने नफेरिएको यथार्थ अझै कायम छ।


उनले पटक–पटक नेपाली जनता शहीद भए पनि शहीदका सपना पूरा हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यसै सन्दर्भमा उनले भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीहरूले आफ्नो अमूल्य जीवन गुमाउनुपरेको घटनालाई पनि स्मरण गरेका छन्।


बालेनले अब शहीदका सपना पुरा गर्ने बाटोमा देश अघि बढ्नुपर्ने बेला आएको बताउँदै, लामो समयदेखि जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताएका छन्।


उनले राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, शहीदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब कसैलाई नरहेको स्पष्ट पारेका छन्।


“अब समय आएको छ—शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पुरा गर्ने, सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश बनाउने,” बालेनको भनाइ छ।


शहीद दिवसको अवसरमा उनले सम्पूर्ण ज्ञात तथा अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, भविष्यमा फेरि कसैले शहीद बन्नु नपरोस् भन्ने कामनासहित शहीदहरूको बलिदानीलाई सार्थक पार्न मन, वचन र कर्मले प्रतिबद्ध भएर लाग्न सबैलाई आह्वान गरेका छन्।


प्रतिक्रिया