इन्टर मिलानको अफिसियल पेजमा नेपाली गीत—आईजीपी दानबहादुर कार्कीको सिर्जना चर्चामा

theoutsidenepal.com

काठमाडौं ।विश्व चर्चित इटालियन फुटबल क्लब इन्टर मिलानको आधिकारिक फेसबुक पेजमा नेपाली भाषा र नेपाली गीत प्रयोग भएपछि नेपाली समर्थकहरूबीच सुखद् आश्चर्य र उत्साह फैलिएको छ। क्लबले नेपाली भाषामा क्याप्सन लेख्दै पृष्ठभूमिमा नेपाली गीत राखेर पोस्ट सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको हो।

उक्त पोस्टमा प्रयोग गरिएको गीत ‘आँखा झिमझिम भो…’ हो, जसका रचनाकार नेपाल प्रहरी संगठनका आईजीपी दानबहादुर कार्की हुन्। गीत सदीक्षा कट्टेल र समीर खरेलले गाएका छन् भने बसन्त सापकोटाको संगीत रहेको छ। करिब ७ महिनाअघि गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा कविता नेपाली र सुनिल क्षेत्री फिचर्ड छन्।


इन्टर मिलानले नेपाली भाषामै क्याप्सन लेख्दै “सबैभन्दा महान : रोनाल्डो द फेनोमेनन । नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस्” उल्लेख गरेको छ। पोस्टमा राखिएको भिडियो सन् १९९७–९८ को युईएफए कप जितेको समयको रहेको छ, जसमा ब्राजिलका चर्चित फुटबलर रोनाल्डो इन्टर मिलानबाट खेलिरहेका थिए।



नेपाली समर्थकको प्रतिक्रिया



नेपाली भाषा र गीतको प्रयोगपछि सामाजिक सञ्जालमा नेपाली प्रयोगकर्ताहरूको बाक्लो प्रतिक्रिया आएको छ।

कतिपयले इन्टर मिलानलाई धन्यवाद दिँदै “नेपाली गीत सुनाइदिनुभयो, धन्यवाद” लेखेका छन् भने केहीले ठट्टा गर्दै “इन्टरको एडमिन नेपाली नै छन् कि क्या हो” टिप्पणी गरेका छन्।

केही प्रयोगकर्ताले “फेक होला भनेको त आइडी हेर्दा रियल रहेछ” भन्दै आश्चर्य व्यक्त गरेका छन् भने अरूले “पेज ह्याक भयो कि क्या हो?” जस्ता प्रतिक्रिया पनि दिएका छन्।



गीतकारका रूपमा पनि चर्चामा आईजीपी कार्की



नेपाली गीत विश्व चर्चित फुटबल क्लबको आधिकारिक पेजमा बज्नुले नेपाल प्रहरी संगठनका आईजीपी दानबहादुर कार्कीको सिर्जनात्मक पक्षसमेत चर्चामा आएको छ। प्रहरी संगठनको कमान सम्हालेयता उनी केवल प्रशासनिक प्रमुख मात्र नभई दृढ इच्छाशक्ति, उच्च व्यावसायिकता र बहुआयामिक व्यक्तित्वका कारण राष्ट्रिय स्तरमै प्रेरणाको स्रोत मानिन्छन्।



कडा निर्णय क्षमता र निष्पक्ष नेतृत्व



कार्कीलाई संगठनभित्र निर्भीक र निर्णयक्षम कमाण्डरका रूपमा चिनिन्छ। जटिल सुरक्षा चुनौती, संवेदनशील घटनाक्रम र बदलिँदो अपराध प्रवृत्तिलाई सामना गर्दा उनले देखाएको रणनीतिक सोच र निष्पक्षता प्रहरी संगठनका लागि मार्गदर्शक बनेको छ।

उनको नेतृत्वमा अपराध नियन्त्रण, शान्ति–सुरक्षा व्यवस्थापन र जनतामैत्री प्रहरी अवधारणा थप सुदृढ बन्दै गएको मूल्यांकन गरिन्छ।



इन्टर मिलानको परिचय



सन् १९०८ मा स्थापना भएको इन्टर मिलान इटालीको ऐतिहासिक र सफल फुटबल क्लबमध्ये एक हो। क्लबले आजसम्म इटालियन शीर्ष लिग सेरी ‘ए’ बाट कहिल्यै रेलिगेसन भोगेको छैन र सेरी ‘ए’ मा १८ उपाधि जितेको छ।

गत सिजन उपविजेता बनेको इन्टर मिलान चालु सिजनमा २३ खेलपछि तालिकाको शीर्ष स्थानमा रहेको छ भने च्याम्पियन्स लिगको नकआउट चरणका लागि प्लेअफ प्रतिस्पर्धामा छ।


नेपाली भाषा र संगीतलाई अन्तर्राष्ट्रिय फुटबल क्लबले सम्मानपूर्वक प्रयोग गरेपछि नेपाली समर्थकहरूमा गर्वको अनुभूति बढेको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ भने आईजीपी कार्कीको सिर्जनात्मक योगदान पनि अन्तर्राष्ट्रिय स्तरमै चर्चामा आएको छ।


प्रतिक्रिया