अमेरिकाको ओमाहा सहरस्थित ग्रेट इभेन्ट्स सेन्टरद्वारा आयोजित “धुर्मुस–सुन्तली भेटघाट कार्यक्रम” ले नेपाली समुदायबीचको गहिरो माया, सम्मान र एकताको सुन्दर दृश्य प्रस्तुत गरेको छ। कार्यक्रममा नेपाली हास्यकला तथा सामाजिक सेवामार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएका कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) प्रति व्यक्त गरिएको आत्मीयताले कार्यक्रमलाई भावनात्मक र स्मरणीय बनाएको आयोजकले जनाएको छ।
कार्यक्रमका अवसरमा धुर्मुस–सुन्तलीको दीर्घकालीन सामाजिक तथा मानवीय योगदानको कदर गर्दै ग्रेट इभेन्ट्स सेन्टरले विशेष सम्मानपत्र प्रदान गरेको थियो। उक्त सम्मानपत्रमा विपद्–प्रभावित समुदायका लागि एकीकृत बस्ती निर्माण, स्वास्थ्य सेवामा गरिएको सहयोग तथा राष्ट्रिय गौरव बढाउने परियोजनामा पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको उल्लेख थियो। यसले उनीहरूको योगदान मनोरञ्जनमा मात्र सीमित नभई समाज रूपान्तरणतर्फ उन्मुख रहेको सन्देश दिएको आयोजक पक्षले जनाएको छ।
सम्मान ग्रहणपछि धुर्मुस–सुन्तलीले आफूहरूलाई दिइएको सम्मान व्यक्तिको भन्दा सेवाको भावनाप्रतिको सम्मान भएको बताएका छन्। “हामीले थालेको सानो यात्रालाई यहाँसम्म ल्याइपुर्याउने शक्ति भनेकै नेपाली समुदायको साथ, विश्वास र माया हो,” उनीहरूको धन्यवाद मन्तव्यमा उल्लेख गरिएको थियो।
कार्यक्रमको सफल आयोजना तथा व्यवस्थापनका लागि ग्रेट इभेन्ट्स सेन्टरका प्रमुख डा. कुमार गुरुङसहित सम्पूर्ण टिमप्रति विशेष आभार व्यक्त गरिएको छ। कार्यक्रममा विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विदेशी भूमिमा बसेर पनि नेपाल र नेपालीप्रतिको माया झल्काउने यो कार्यक्रम नेपाली कला, संस्कृति र सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धताको प्रतीक बनेको आयोजकको भनाइ छ। धुर्मुस–सुन्तलीले आगामी दिनमा पनि समाजका लागि सकारात्मक कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।