नेविसंघको अध्यक्षमा श्रृजना मल्ल मनोनीत, छ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी
द टन न्युज | काठमाडौं
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार २०८३ कात्तिक १२ गते मल्ललाई अध्यक्ष पदमा मनोनीत गरिएको हो।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले मल्ललाई पठाएको औपचारिक मनोनयनपत्रमा पार्टी विधान, २०७५ (संशोधनसहित) को धारा ४२ (१) (ख) बमोजिम अध्यक्ष पदमा मनोनीत गरिएको उल्लेख छ।
मनोनीत अध्यक्ष मल्ललाई नेपाली कांग्रेसका स्थापित मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै आगामी छ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। साथै संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउने अपेक्षा पनि पत्रमा व्यक्त गरिएको छ।
मल्ल यसअघि दुजाङ शेर्पा नेतृत्वको नेविसंघ केन्द्रीय समितिमा केन्द्रीय सदस्यका रूपमा कार्यरत थिइन्। अब उनले विद्यार्थी संगठनको नेतृत्व सम्हाल्दै नयाँ कार्यसमिति निर्माण, संगठन विस्तार र महाधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण जिम्मेवारी पाएकी छन्।
नेविसंघको आगामी नेतृत्व निर्माण र संगठनलाई नयाँ गति दिने सन्दर्भमा मल्लको कार्यकाललाई चासोका साथ हेरिएको छ।