धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा अर्धनग्न अवस्थामा अन्दाजी २५ वर्षमुनिकी युवतीको शव फेला परेको छ। शव वनभित्रको खोल्सा नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्रीका अनुसार मृतक युवतीको सनाखत अहिलेसम्म हुन सकेको छैन। ‘शव षड्न लागेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘यो घटना करिब १०–१५ दिनअघिको हुनसक्छ।’
स्थानीयले युवतीको शरीरमा चोटपटक देखिएको बताउँदै घटना शंकास्पद रहेको बताएका छन्। प्रहरीले घटनास्थल सुरक्षित गरी अनुसन्धान सुरु गरेको छ। थप प्रमाण संकलन र छानबिनका लागि प्रहरी टोली सक्रिय रहेको छ।
प्रहरी उपरीक्षक खत्रीले भने, “घटना कसरी भएको हो र दोषी को हो भन्ने बारे छानबिन जारी छ। हामी सबै कोणबाट अनुसन्धान गरिरहेका छौं।”
स्थानीय बासिन्दाहरूले घटना प्रति चासो व्यक्त गर्दै सुरक्षा व्यवस्था कडा गर्नुपर्ने माग गरेका छन्। घटनास्थल नजिकैका क्षेत्रमा प्रहरी गस्ती बढाइएको छ।