काठमाडौं — लोकदोहोरी गायिका ज्वती मगरले रिमा विश्वकर्मा, प्रकाश सपुत र बालेन शाह प्रधानमन्त्री बनेर देशमा परिवर्तन ल्याउन सक्ने विषयमा आफू विश्वस्त नरहेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा उनले वर्तमान परिस्थितिमा अनुभवी र परीक्षण भइसकेको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेकी हुन्।
मगरले देशको स्थायित्व र विकासका लागि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एमाले) लाई सहयोग गर्नसमेत समर्थकहरूलाई आग्रह गरेकी छन्। उनका अनुसार स्पष्ट दृष्टिकोण र अनुभवयुक्त नेतृत्वले मात्रै मुलुकलाई सही दिशामा अघि बढाउन सक्छ।
उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले उनको विचारलाई व्यक्तिगत धारणा भन्दै समर्थन जनाएका छन् भने कतिपयले नयाँ पुस्ताको नेतृत्वप्रति अविश्वास व्यक्त गर्नु उचित नभएको टिप्पणी गरेका छन्।
यस विषयमा रिमा विश्वकर्मा, प्रकाश सपुत र बालेन शाहतर्फबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।