शान्तिपुर टोलमा चितुवा देखिएको सूचना, स्थानीयलाई सतर्क रहन वडा अध्यक्ष रानाको आग्रह
कृष्णपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुर टोल आसपासमा केही दिनयता चितुवा देखिएको भन्ने जानकारी प्राप्त भएपछि स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
कृष्णपुर नगरपालिका–७ का वडा अध्यक्ष घुम्मन रानाले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै शान्तिपुर टोल आसपासका क्षेत्रमा चितुवा देखिएको जानकारी प्राप्त भएको जनाएका हुन्।
वडा अध्यक्ष रानाले उक्त क्षेत्र आसपास बसोबास गर्ने सम्पूर्ण स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन तथा सतर्क रहन आग्रह गरेका छन्। विशेषगरी बिहान–बेलुका तथा सुनसान क्षेत्रमा आवतजावत गर्दा सचेत रहन स्थानीयवासीलाई आग्रह गरिएको छ।
चितुवा देखिएको सूचना प्राप्त भएपछि स्थानीयस्तरमा समेत आवश्यक सतर्कता अपनाउन थालिएको जनाइएको छ। वन्यजन्तु देखिएमा त्यसलाई जिस्क्याउने, नजिक जाने वा धपाउने प्रयास नगरी सम्बन्धित निकायलाई तत्काल जानकारी गराउनुपर्नेमा स्थानीयको ध्यानाकर्षण गराइएको छ।
द टन न्युज । कृष्णपुर, कञ्चनपुर