म्याग्दीका दुई हस्ती एनआरएनएमा निर्विरोध : ददीवल खड्का र राधिका गुरुङ ‘टिका’लाई बधाई

theoutsidenepal.com

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट म्याग्दी जिल्लाका दुई जना प्रभावशाली व्यक्तित्व उच्च पदमा निर्विरोध चयन हुनुभएको छ। खुल्लातर्फको उपाध्यक्षमा ददीवल खड्का र महिला उपाध्यक्षमा राधिका गुरुङ ‘टिका’ चयन हुनुभएको हो।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घार घर भई हाल जापानमा बसोबास गर्दै आउनुभएका ददीवल खड्का सफल व्यवसायीका साथै सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ। जापानमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँ नेपाली व्यवसायीहरूको छाता संस्थासँग आबद्ध रहँदै समस्यामा परेका नेपालीहरूको उद्धार तथा नेपालमा सामाजिक सेवामा निरन्तर योगदान गर्दै आउनुभएको छ।


त्यसैगरी बेनी नगरपालिका–७, बिरेन्द्रचोककी राधिका गुरुङ ‘टिका’ लामो समयदेखि हङकङमा बसोबास गर्दै रियल स्टेट व्यवसायमा सक्रिय हुनुहुन्छ। झन्डै तीन दशकको प्रवास जीवनमा उहाँले दुई कार्यकाल एनआरएनए हङकङको अध्यक्ष तथा १०औँ र ११औँ महाधिवेशनबाट महिला सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएको थियो।


निर्विरोध चयन भएपछि उपाध्यक्ष ददीवल खड्काले संस्थागत गतिविधिमा आफ्नो क्षमताअनुसार सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसैगरी महिला उपाध्यक्ष राधिका गुरुङ ‘टिका’ले एनआरएनएमार्फत महिला हक, अधिकार र सशक्तीकरणका क्षेत्रमा थप प्रभावकारी काम गर्ने बताउनुभएको छ।


दुवै अनुभवी र सक्षम नेतृत्व एनआरएनएको उच्च तहमा पुगेसँगै म्याग्दी मात्र नभई समग्र प्रवासी नेपाली समुदाय उत्साहित बनेको छ। उहाँहरूको नेतृत्वले संस्थालाई अझ सशक्त, समावेशी र प्रभावकारी बनाउने विश्वास गरिएको छ।


प्रतिक्रिया