रसुवाको विपत्तिमा एकजुट हुन पूर्व एनआरएनए अध्यक्ष बिनोद कुँवरको आह्वान

theoutsidenepal.com

रसुवाको विपत्तिमा एकजुट हुन पूर्व एनआरएनए अध्यक्ष बिनोद कुँवरको आह्वान

काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति पूर्व गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष बिनोद कुँवरले गहिरो दुःख व्यक्त गर्दै विपत्तिको सामना गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

कुँवरले सामाजिक सञ्जालमार्फत रसुवाको बाढीमा नेपाली नागरिकसँगै चिनियाँ, भारतीय, कोरियाली तथा नेपाल भ्रमणमा आएका अन्य विदेशी पर्यटकसमेत प्रभावित भएको उल्लेख गर्दै घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन्।

उनले बाढीमा ज्यान गुमाउने सम्पूर्ण नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै, घाइते तथा सम्पर्कविहीनहरूको शीघ्र उद्धार, उपचार र खोजी कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन्।

बाढीबाट घर, व्यवसाय, पर्यटन क्षेत्र, सडक, पुललगायत महत्वपूर्ण भौतिक संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै कुँवरले पीडितलाई सहानुभूतिसँगै तत्काल ठोस सहयोग, उद्धार र पुनःस्थापनाको आवश्यकता रहेको बताएका छन्।

उनले संसारका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूलाई आ–आफ्नो स्थानबाट राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सक्रियतापूर्वक सहयोग गर्न आह्वान गरेका छन्।

नेपालले विदेशी पाहुनालाई आतिथ्य र प्रेम प्रदान गर्दै आएको स्मरण गराउँदै कुँवरले विपत्तिमा परेका विदेशी पर्यटकप्रतिको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन्।

‘मानवताको कुनै सीमा हुँदैन। विपत्तिमा राष्ट्रियता होइन, मानवता अगाडि आउँछ,’ कुँवरले भनेका छन्।उनले रसुवाको पीडामा सबै नेपाली तथा विश्वभर रहेका नेपाली समुदायलाई एकजुट भएर सहयोग गर्न अपिल गरेका छन्।

#RasuwaFlood #NRNA #BinodKunwar #Humanity #NepalFlood #ReliefAndRescue

प्रतिक्रिया