एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी, ‘एक मन–एक संगठन’ अभियान

theoutsidenepal.com

गैरआवासीय नेपाली संघ Non-Resident Nepali Association (एनआरएनए) का प्रभावशाली व्यक्तित्व खगेन्द्र न्यौपाने ले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।


एनआरएनएको आगामी नेतृत्व चयनका लागि वर्तमान उपाध्यक्ष रहेका न्यौपानेले बुधबार बालुवाटार स्थित एनआरएनए सचिवालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।


संघको १२औँ विश्व महाधिवेशन आगामी मार्च १४, १५ र १६ मा काठमाडौं मा हुँदैछ। सो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने छ।


नेपाल र मलेसिया मा व्यवसाय सञ्चालन गर्दै आएका न्यौपाने प्रारम्भमा अध्यक्ष पदका आकांक्षी थिए। तर संस्थाभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिँदै उनले पुनः उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय गरेका हुन्।


यसपटकको महाधिवेशनका लागि उनले “सुदृढ संगठन, दरिलो एकता हाम्रो अभियान” भन्ने नारा अघि सारेका छन्। साथै “एक मन, एक संगठन” को अवधारणामार्फत विश्वभर रहेका गैरआवासीय नेपालीलाई एउटै साझा मञ्चमा एकताबद्ध गर्ने लक्ष्य रहेको उनले बताएका छन्।


संस्थाभित्र देखिएका मतभेद र विभाजनलाई अन्त्य गर्दै एनआरएनएलाई अझ सशक्त र प्रभावकारी बनाउने उनको योजना छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा, श्रम अधिकार र सम्मानजनक कामको वातावरण सुनिश्चित गर्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्।


त्यसैगरी गैरआवासीय नेपाली नागरिकता र प्रवासी नेपालीको मताधिकारको विषयलाई पनि उनले प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। संविधानले व्यवस्था गरेका अधिकारहरूको व्यवहारिक कार्यान्वयनका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय गर्दै ठोस पहल गर्ने उनको प्रतिबद्धता छ।


न्यौपानेले एनआरएनएलाई अझ विश्वासिलो, परिणाममुखी र एकताबद्ध संस्थाका रूपमा अगाडि बढाउने दृढ संकल्प व्यक्त गरेका छन्।


प्रतिक्रिया