काठमाडौंको लामो यात्रा पछि धनगढी फर्किए टिकाराम सुनार, नयाँ जिम्मेवारीसँगै आफ्नै माटोमा पुनः उभिएको घोषणा

theoutsidenepal.com

काठमाडौंको लामो यात्रा पछि धनगढी फर्किए टिकाराम सुनार, नयाँ जिम्मेवारीसँगै आफ्नै माटोमा पुनः उभिएको घोषणा

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार टिकाराम सुनारले अब आफ्नो बसाइँ धनगढी हुने जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले वर्षौंअघि स्पष्ट गन्तव्य र सपना बिना धनगढीबाट काठमाडौं पुगेको स्मरण गरेका छन्।

सुनारले त्यतिबेला परिवार, विशेषगरी दाइ निरप बहादुर सुनारको विश्वास र सपनाले आफूलाई काठमाडौंसम्म पुर्‍याएको उल्लेख गरेका छन्। कैलालीमा अध्ययनका क्रममा भोगेका संघर्ष, अभाव र अनुभवहरूले आफूलाई अगाडि बढ्न प्रेरित गरेको उनको भनाइ छ।

उनले अहिले भने ‘रित्ता सपना’ नभई केही उपलब्धि, जिम्मेवारी र आफूलाई विश्वास गर्नेहरूको अपेक्षा बोकेर धनगढी फर्किएको बताएका छन्। आफूले हिँडेको बाटो, भोगेका संघर्ष र समाजप्रति पूरा गर्नुपर्ने दायित्वसहित आफ्नै माटोमा पुनः उभिन आएको उनको सन्देशमा उल्लेख छ।

नयाँ जिम्मेवारीका लागि विश्वास गर्ने राससको उच्च व्यवस्थापनप्रति आभार व्यक्त गर्दै सुनारले धनगढीस्थित सहकर्मी, रासस परिवार तथा शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन्। उनको यो सन्देशलाई नयाँ जिम्मेवारी र गृहभूमि फर्किने भावनात्मक घोषणाका रूपमा हेरिएको छ।


प्रतिक्रिया