शिकागोमा आयोजित अमेरिका–नेपाल मेडिकल सम्मेलनमा डा. अरुण शाहीको जोड: “क्यान्सरको प्रारम्भिक पहिचानमा ध्यान दिनुपर्छ”
काठमाडौं, जेठ ३१ — वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही ले अमेरिकाको Chicago मा आयोजित ३०औँ अमेरिका–नेपाल मेडिकल फाउन्डेसन (ANMF) सम्मेलन मा नेपालमा प्रतिकारात्मक स्वास्थ्य सेवाको विकास र क्यान्सरको प्रारम्भिक पहिचानको आवश्यकतामाथि जोड दिएका छन्।
सम्मेलनमा आफ्नो धारणा राख्दै डा. शाहीले नेपालमा क्यान्सर रोग प्रायः ढिलो चरणमा मात्र पत्ता लाग्ने अवस्था रहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सुरुवाती चरणमै रोग पहिचान गर्ने प्रणाली सुदृढ बनाउनुपर्ने बताए। “नेपालमा बढ्दो क्यान्सरको चुनौती सामना गर्न समयमै परीक्षण, जनचेतना अभिवृद्धि र प्रतिकारात्मक स्वास्थ्य सेवाको विस्तार अपरिहार्य छ,” उनले बताए।
‘नेपालमा प्रतिकारात्मक स्वास्थ्य सेवाको विकास (Advancing Preventative Care in Nepal)’ विषयक छलफलमा सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली चिकित्सकहरूबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे।
डा. शाहीले अमेरिकामा बसोबास गर्ने नेपाली मूलका चिकित्सकहरूले आफ्नो व्यस्त जीवनका बाबजुद नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि निरन्तर योगदान पुर्याइरहेको भन्दै उनीहरूको निस्वार्थ समर्पण प्रशंसनीय रहेको बताए। साथै, नेपालमै रहेर सेवा गरिरहेका चिकित्सकहरूको अथक प्रयासले देशको स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
उनले प्रवासी नेपाली चिकित्सक र नेपालमा कार्यरत स्वास्थ्यकर्मीहरूबीचको सहकार्यले नेपालको स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।
३०औँ अमेरिका–नेपाल मेडिकल फाउन्डेसन सम्मेलनमा नेपाल तथा अमेरिकाका चिकित्सक, स्वास्थ्य विज्ञ तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सम्मेलनमा नेपालको स्वास्थ्य प्रणाली सुधार, रोगको रोकथाम तथा आधुनिक उपचार पद्धतिबारे व्यापक छलफल भएको जनाइएको छ।