आर्थिक सहयोग नलिएको घोषणा : उज्यालो नेपाल पार्टीका उम्मेदवार पेम्बा छिरी शेर्पाको प्रतिबद्धता

theoutsidenepal.com

सोलुखुम्बुमा उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधि उम्मेदवार बनेका पेम्बा छिरी शेर्पा ले आफ्नो चुनावी अभियानमा कुनै पनि प्रकारको आर्थिक सहयोग संकलन नगरेको औपचारिक घोषणा गर्नुभएको छ।


उज्यालो नेपाल पार्टी, निर्वाचन क्षेत्रीय समिति सोलुखुम्बुद्वारा जारी पत्रमार्फत जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउँदै शेर्पाले यसपटकको निर्वाचनमा कुनै व्यक्ति, संघ–संस्था वा निकायबाट आर्थिक सहयोग नलिएको स्पष्ट पार्नुभएको हो।


उहाँले निर्वाचन खर्चका लागि कुनै बैंक खाता, क्यूआर कोड वा अन्य माध्यमबाट रकम संकलन नगरेको उल्लेख गर्दै व्यक्तिगत तथा पारिवारिक स्रोत (परिवारका सदस्य बाहेक अन्य कसैबाट) बाहेक कुनै सहयोग नलिने निर्णय गरेको जनाउनुभएको छ।


त्यसैगरी, यदि कसैले आफ्नो नाम जोडेर आर्थिक सहयोग लिएको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम सजाय भोग्न तयार रहेकोसमेत उहाँले स्पष्ट पार्नुभएको छ।


यस घोषणासँगै पेम्बा छिरी शेर्पाले पारदर्शिता, स्वच्छ राजनीति र कानुनी मापदण्डप्रतिको प्रतिबद्धता दोहोर्याउनुभएको छ। सोलुखुम्बुमा स्वच्छ र उत्तरदायी राजनीतिक अभ्यासको सन्देश दिन खोजिएको भन्दै समर्थकहरूले यस कदमको स्वागत गरेका छन्।


प्रतिक्रिया