प्रवासी पत्रकारिता र नेपालको समृद्धिका लागि सहकार्य आवश्यक : रोबिन शेरचन

theoutsidenepal.com

प्रवासी पत्रकारिता र नेपालको समृद्धिका लागि सहकार्य आवश्यक : रोबिन शेरचन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले जापानको टोकियोमा सम्पन्न नेपाल पत्रकार महासंघको ग्लोबल सम्मेलनले प्रवासी नेपाली पत्रकारितालाई थप सशक्त, जिम्मेवार र प्रभावकारी बनाउने महत्वपूर्ण सन्देश दिएको बताएका छन्।


शनिबार टोकियोमा सम्पन्न सम्मेलनबारे आफ्नो धारणा सार्वजनिक गर्दै शेरचनले प्रवासी नेपालीका आवाज, समस्या, उपलब्धि तथा राष्ट्रिय हितका विषयलाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न पत्रकारिताको भूमिका अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता सम्मेलनले स्पष्ट रूपमा औंल्याएको बताए।

उनका अनुसार सम्मेलनमा पत्रकारिता, विदेशमा रहेका नेपाली समुदाय, गैरआवासीय नेपाली संघ (एनआरएनए)को भूमिका, लगानी, आर्थिक सम्भावना तथा नेपालको विकाससँग सम्बन्धित विषयमा खोजमूलक कार्यपत्र प्रस्तुत गरिनुका साथै गहन छलफल गरिएको थियो।


शेरचनले एनआरएनए अब केवल रेमिटेन्स पठाउने समुदायको प्रतिनिधि संस्थामा सीमित नरहेको उल्लेख गर्दै विश्वभर रहेका नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि र अनुभवलाई नेपालको आर्थिक समृद्धिसँग जोड्ने अभियानमा सक्रिय रहेको बताए। उनले लगानी, उद्यमशीलता र आर्थिक साझेदारीमार्फत नेपालको समृद्धिका लागि सरकार, एनआरएनए, निजी क्षेत्र, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले टोकियोमा सम्पन्न ग्लोबल सम्मेलनले सरकार, पत्रकारिता क्षेत्र, एनआरएनए तथा विश्वभर रहेका नेपाली समुदायबीच सहकार्य, समन्वय र विश्वासको सम्बन्धलाई अझ मजबुत बनाउने महत्वपूर्ण सन्देश दिएको विश्वास व्यक्त गरे।

सम्मेलनको सफल आयोजनाका लागि नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र गोर्खाली, आयोजक समिति, वक्ता, सहभागी तथा पत्रकारहरूलाई शेरचनले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेका छन्।

उनले आगामी दिनमा प्रवासी नेपाली पत्रकारिता अझ मर्यादित, व्यावसायिक र प्रभावकारी बन्दै सरकार, एनआरएनए र विश्वभर रहेका नेपाली समुदायबीचको सहकार्य थप सुदृढ हुने विश्वाससमेत व्यक्त गरेका छन्।


प्रतिक्रिया