काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले नै गर्ने विश्वास व्यक्त गरेका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधरको तर्फबाट बोल्दै नेता जगदीश्वरनरसिंह केसीले सभापति देउवालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक रूपमा पत्र पठाइसकेको जानकारी दिए। उनका अनुसार सभापति देउवा स्वयं उद्घाटन समारोहमा उपस्थित भई विशेष महाधिवेशनको उद्घाटन गर्नेमा पक्षधरहरू विश्वस्त छन्।
नेता केसीले भने, “सभापतिज्यू नै आएर उद्घाटन समारोहमा उपस्थित हुनुहुनेछ। महामन्त्रीहरूले पत्र दिइसकेको अवस्था छ। उहाँ नै उपस्थित भएर उद्घाटन हुन्छ भन्ने हामी विशेष महाधिवेशनमा हस्ताक्षर गरेका सबैले विश्वास गरेका छौँ।”
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्र मतभेद देखिए पनि विशेष महाधिवेशन पक्षधरहरूले प्रक्रियागत रूपमा अघि बढ्ने अडान दोहोर्याएका छन्।
विशेष महाधिवेशनको उद्घाटन सत्र पुस २७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने जनाइएको छ।