गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्व चयनलाई लिएर यसपटक अभूतपूर्व हलचल देखिएको छ। विशेषगरी ‘जेन्जी’ पुस्ताले नेतृत्व परिवर्तनको नारा दिएपछि अध्यक्ष पदको दौडमा एक प्रकारको ‘भूकम्प’ नै आएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
यही माहोलबीच एनआरएनएका युवा नेता दिपेश खत्री ले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन्। खत्रीलाई विश्वभर रहेका जेन्जी पुस्ताका नेपाली युवाहरूले बलियो समर्थन गरिरहेका छन्।
कोरिया, हङकङ, पोर्चुगल, जापान तथा मध्यपूर्वका विभिन्न देशबाट मात्रै करिब ८०० भन्दा बढी युवा नेपाल आइपुगेका छन्। उनीहरू नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भाग लिन आएका भए पनि, अब एनआरएनएको चुनावमा पनि सक्रिय रूपमा सहभागी हुने तयारीमा छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार नेपालमा देखिएको युवाको विद्रोह र परिवर्तनको लहर अब विदेशमा रहेका नेपाली समुदायसम्म पनि पुगेको छ। नेपालमा Rabi Lamichhane र Balen Shah नेतृत्वको Rastriya Swatantra Party ले निर्वाचनमा क्लिन स्वीप गर्दै शक्तिशाली दलको रूपमा उदाएपछि त्यसको प्रभाव प्रवासी नेपाली राजनीति अर्थात् एनआरएनएभित्र पनि देखिन थालेको बताइन्छ।
यही प्रभावका कारण अहिले जेन्जी पुस्ताले दिपेश खत्रीलाई अध्यक्षमा ल्याउने अभियान सुरु गरेको बताइन्छ। युवाहरूले एनआरएनएभित्र लामो समयदेखि जरा गाडेको पुरानो सोच, परम्परागत शैली र सीमित समूहको वर्चस्व तोड्न विद्रोह सुरु गरेको दाबी गरेका छन्।
यसपटकको एनआरएनए निर्वाचन भौतिक मतदानसहित हुने तयारी भएपछि चुनावी माहोल झनै तातेको छ। विदेशबाट आएका युवाहरू प्रत्यक्ष मैदानमै उत्रिने भएपछि चुनाव अझ रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ।
एनआरएनएभित्र अहिले उठेको यो जेन्जी लहरले पुरानो नेतृत्व संरचनालाई चुनौती दिने कि नयाँ इतिहास बनाउने भन्ने प्रश्नले प्रवासी नेपाली समुदायमा ठूलो बहस सुरु गराएको छ।