सुनसरी–सिरहा घटनाप्रति एनआरएनएको गहिरो चिन्ता, शान्तिपूर्ण समाधानका लागि सबै पक्षलाई आह्वान
काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको देवानगञ्ज, सिरहालगायत स्थानमा भएका दुःखद घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र नागरिक सुरक्षालाई प्राथमिकतामा राख्न सबै पक्षसँग आग्रह गरेको छ।
संघका अध्यक्ष डा. हेमराज शर्माले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइतेहरूको शीघ्र, पूर्ण तथा सफल स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारका लागि आवश्यक सबै स्वास्थ्य सेवा र सहयोगको तत्काल व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गरिएको छ।
एनआरएनएले नेपाल सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको देश भएको उल्लेख गर्दै कुनै पनि प्रकारको हिंसा, द्वेष, घृणा वा विभाजनले राष्ट्र र समाजलाई कमजोर बनाउने जनाएको छ।
संघले वर्तमान विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्न तथा समाजमा शान्ति, सुरक्षा र विश्वास पुनःस्थापित गर्न संवाद, सहकार्य, संयम र आपसी समझदारीका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवालालाई हार्दिक आग्रह गरेको छ।
एनआरएनएले सबै पक्षलाई संयम अपनाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न योगदान पुर्याउन समेत आह्वान गरेको छ।