अनाथ बालबालिकाको सहयोगार्थ निलकृष्ण–जशोदा सिटौला फाउन्डेशनद्वारा सहयोग रकम हस्तान्तरण

theoutsidenepal.com

अनाथ बालबालिकाको सहयोगार्थ निलकृष्ण–जशोदा सिटौला फाउन्डेशनद्वारा सहयोग रकम हस्तान्तरण


द टन न्युज । विशेष रिपोर्ट


काठमाडौं । अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ अमेरिकाको नर्थन क्यालिफोर्नियास्थित निलकृष्ण–जशोदा सिटौला फाउन्डेशनले सहयोग रकम हस्तान्तरण गरेको छ।


फाउन्डेशनका प्रमुख तथा वरिष्ठ समाजसेवी ईश्वर सिटौलाको नेतृत्वमा अमेरिकामा सञ्चालन भइरहेको सहयोग अभियानअन्तर्गत संकलित रकम संयुक्त अपाङ्ग आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीलाई हस्तान्तरण गरिएको हो।



सिटौला फाउन्डेशनले सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै अनाथ तथा असहाय बालबालिकाको शिक्षा, पालनपोषण, लत्ताकपडा तथा दैनिक आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिरहेको जनाएको छ।


अमेरिकामा सहयोग अभियानको नेतृत्व गरिरहेका वरिष्ठ समाजसेवी ईश्वर सिटौलाले **“द टन न्युज”**लाई जानकारी दिँदै हाल हस्तान्तरण गरिएको रकम पेस्कीस्वरूपको प्रारम्भिक सहयोग भएको बताउनुभयो। अभियानमा थप सहयोग रकम संकलन हुन बाँकी रहेकाले उक्त रकम संकलन भएपछि पुनः थप सहयोग हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो।


उहाँका अनुसार तत्काल ३ लाख ५ हजार १ सय ११ रुपैयाँका सहयोग उपलब्ध गराउनुभयो ।


फाउन्डेशनले बालबालिकाको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न शीर्षकमा सहयोग गर्ने जनाएको छ। जसअन्तर्गत २ लाख रुपैयाँ घरभाडा तथा १ लाख ५ हजार १ सय ११ रुपैयाँ लत्ताकपडा एवं दशैं–तिहार खर्चका लागि सहयोग गर्ने योजना रहेको जनाइएको छ।


त्यस्तै, नेपालस्थित निलकृष्ण–जशोदा सिटौला फाउन्डेशनको प्रतिनिधित्व तथा समन्वयको जिम्मेवारी नेपाल सरकारका पूर्व सहसचिव दीर्घराज मैनाली र उहाँकी पत्नी कविता मैनाली, प्रमुख सल्लाहकार गोपीकृष्ण प्रसाईँ तथा किशोर उप्रेती ले बहन गर्नुभयो ।


अमेरिकामा रहेका नेपाली तथा सामाजिक अभियन्ताहरूको सहयोग र सद्भावलाई नेपालका विपन्न, असहाय तथा अनाथ बालबालिकासम्म पुर्‍याउने उद्देश्यसहित फाउन्डेशनले अघि बढाएको यो अभियानले मानवीय सेवाको क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।


“सेवा केवल सहयोग होइन, कसैको जीवनमा आशा जगाउने माध्यम हो” भन्ने भावनासहित अघि बढेको सिटौला फाउन्डेशनको अभियानले आगामी दिनमा थप व्यापकता पाउने अपेक्षा गरिएको छ।


द टन न्युज

Accuracy, Balance and Credibility

प्रतिक्रिया