एनआरएनए निर्वाचन प्रक्रिया स्थगित गर्न सह–कोषाध्यक्ष कृष्ण पोखरेलको आग्रह

theoutsidenepal.com

गैरआवासीय नेपाली संघ (NRNA) का सह–कोषाध्यक्ष Krishna Pokharel ले संस्थाभित्र देखिएका विवाद समाधान नगरी अगाडि बढाइने कुनै पनि अधिवेशन तथा निर्वाचन प्रक्रिया संस्थाको मर्म विपरीत हुने बताएका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले Non-Resident Nepali Association विश्वभर छरिएर रहेका सम्पूर्ण प्रवासी नेपालीहरूको साझा संस्था भएकाले यसलाई सीमित व्यक्तिहरूको अनुकूलतामा सञ्चालन गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेका छन्।


पोखरेलले हाल धेरै देशका राष्ट्रिय समन्वय परिषद् (NCC) हरूमा विवाद कायम रहेको उल्लेख गर्दै विशेषगरी मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा अवस्था पनि संवेदनशील रहेको बताएका छन्। साथै, प्रतिनिधिहरूमध्ये एक पक्ष नै प्रक्रियाबाट बाहिर पर्ने अवस्था देखिएको भन्दै यस्तो परिस्थितिमा सीमित व्यक्तिहरूको उपस्थितिमा मात्र अधिवेशन र निर्वाचन प्रक्रिया अगाडि बढाउनु उचित नहुने उनको भनाइ छ।


उनका अनुसार NCC प्रतिनिधिहरूको पूर्ण सहभागिता र विश्वास सुनिश्चित नगरी गरिने कुनै पनि निर्वाचन प्रक्रियाले संस्थाको गरिमा, वैधता र विश्वसनीयतालाई कमजोर बनाउन सक्छ।


त्यसैले सम्पूर्ण NCC हरूको सहभागिता, सहमति र समावेशिता सुनिश्चित नभएसम्म निर्वाचन प्रक्रिया स्थगित गरी संवाद र सहमतिका आधारमा अगाडि बढ्नुपर्ने उनले सुझाव दिएका छन्।


पोखरेलको यो अभिव्यक्तिले आगामी अधिवेशन तथा निर्वाचन प्रक्रियाबारे प्रवासी नेपाली समुदायभित्र थप बहस र चासो बढाएको देखिन्छ। 


प्रतिक्रिया