भक्तपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (एफपीटीपी) का लागि मतपत्र छपाइको कार्य तीव्र गतिमा अघि बढिरहेको छ। सोही कार्यको अनुगमन तथा निरीक्षण गर्न प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा उच्चस्तरीय सरकारी तथा निर्वाचन आयोगको टोली जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, भक्तपुर पुगेको छ।
अनुगमन टोलीमा गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायत आयोगका पदाधिकारीहरू सहभागी थिए। टोलीले मतपत्र छपाइको गुणस्तर, सुरक्षा व्यवस्था, समयतालिका र प्राविधिक व्यवस्थापनबारे जानकारी लिँदै निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक निर्देशन दिएको जनाएको छ।
अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले समयमै गुणस्तरीय मतपत्र छपाइ सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै निर्वाचन प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनु सरकारको प्राथमिकता भएको बताइन्। निर्वाचन आयोगका पदाधिकारीहरूले पनि मतपत्र छपाइ कार्य निर्धारित समयमै सम्पन्न हुने जानकारी दिएका छन्।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले देशभर आवश्यक तयारीलाई तीव्र बनाएको छ भने मतपत्र छपाइ प्रक्रिया निर्वाचन व्यवस्थापनको महत्वपूर्ण चरण मानिएको छ।