काठमाडौँ — भावी प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले औपचारिक रूपमा १३ गते पदभार ग्रहण गर्नुअघि नै आफ्नो सचिवालय गठनको तयारी तीव्र पारेका छन्। स्रोतका अनुसार निजामती सेवातर्फबाट सहसचिव प्रदीप परियार लाई प्रधानमन्त्री सचिवालय सम्हाल्ने जिम्मेवारी दिने तयारी भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका बालेनले सरकार सञ्चालनको मोडालिटीबारे आन्तरिक छलफल गरिरहेका बेला परियारलाई सचिवालयमा ल्याउने निर्णय लगभग तय भएको बताइएको छ। यससँगै प्रधानमन्त्रीको स्वकीय सचिवालय मात्र होइन, प्रशासनिक संरचना समेत व्यवस्थित बनाउने काम अघि बढाइएको छ।
निजामती सेवामा उत्कृष्ट उपलब्धि हासिल गरेका परियारले कम उमेरमै सहसचिव बन्ने रेकर्ड कायम गरेका थिए। वि.सं. २०४६ साल वैशाखमा जन्मिएका उनी ३२ वर्षकै उमेरमा सहसचिवमा नाम निकाल्न सफल भएका थिए। लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट छनोट भएका उनीसँगै गुल्मीका सुरेश पन्थी पनि सिफारिस भएका थिए।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा शाखा अधिकृतको रूपमा कार्यरत परियार पछि विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। काठमाडौँ महानगरपालिकामा बालेनसँगै काम गरिसकेका उनी २०८० माघमा कार्यकारी अधिकृतको रूपमा पठाइएका थिए, जहाँबाट बालेनसँग उनको कार्यसम्बन्ध थप सुदृढ भएको थियो।
महानगरमा करिब सात महिना काम गरेपछि २०८१ भदौ २७ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मा सरुवा गरिएको थियो।
अब सम्भावित प्रधानमन्त्री बालेन साहको नेतृत्वमा बन्ने नयाँ सरकारसँगै परियारले केन्द्रिय प्रशासनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।