काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले आज परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ। भेटघाटमा मन्त्री शर्मालाई एनआरएनएको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
सो अवसरमा प्रवासी नेपालीहरूको नागरिकता, लगानी सम्बन्धी समस्या र विभिन्न कारणवश undocumented रहेका नेपालीहरूको चुनौतीबारे गहिरो छलफल गरिएको एनआरएनएले जानकारी दिएको छ। टोलीले मध्यपूर्व क्षेत्रमा बसोबास गर्ने ५००० भन्दा बढी व्यक्तिहरूले अचार खाने भाङको धुलो सेवनका कारण लागु औषधसम्बन्धी मुद्दामा फस्ने, र निर्दोष नेपालीहरूले जेल जीवन बिताइरहेका समस्याबारे पनि मन्त्रीसँग विशेष छलफल गरेको छ।
एनआरएनए आईसीसी का अध्यक्ष महेश कुमार श्रेष्ठ र डा. बद्री केसी, पूर्व अध्यक्ष आरके शर्मा, विनोद कुँवर, आईसीसी उपाध्यक्ष रोजीना प्रधान राई, महिला उपाध्यक्ष रश्मि थापाको उपस्थिति रहेको यो बैठकमा प्रवासी नेपालीको सुरक्षा, न्याय र सुविधाको सुनिश्चितताका उपायमा जोड दिइएको थियो।
एनआरएनएले यस प्रकारका नियमित संवाद मार्फत प्रवासी नेपालीका समस्या समाधान र उनीहरूको हकहितको संरक्षणमा निरन्तर भूमिका खेल्दै आएको बताएको छ।