ज्यान मार्ने धम्की प्रकरणमा सांसद खुश्बु ओलीलाई गृहमन्त्री गुरुङको आश्वासन
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएकी सांसद खुश्बु ओलीलाई नवनियुक्त गृहमन्त्री सुदन गुरुङले आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।
बैठकपछि गृहमन्त्री गुरुङले सांसद ओलीसँग भेट गर्दै घटनाको गम्भीरतापूर्वक छानबिन गरिने र दोषीमाथि कानुनअनुसार कारबाही गरिने बताएका हुन्। साथै उनले उक्त विषयमा आवश्यक प्रक्रिया पूरा गरी औपचारिक रूपमा उजुरी दिन आग्रह समेत गरेका छन्।
सांसद ओलीले प्रतिनिधिसभा बैठकमै आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै सुरक्षा र न्यायको माग गरेकी थिइन्। गृहमन्त्री गुरुङले यस विषयलाई गम्भीर रूपमा लिइएको बताउँदै सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइने जानकारी दिएका छन्।