सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

theoutsidenepal.com

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं — नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने भएको छ।

कम्पनीका अनुसार विपद्को कठिन परिस्थितिमा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा प्रभावित आफन्तलाई सहज रूपमा आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले यो विशेष सुविधा ल्याइएको हो। बाढी आएको दिनदेखि लागू गरिएको उक्त सुविधा अर्को सूचना जारी नभएसम्म कायम रहने कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेसका अनुसार खाडी मुलुकहरू यूएई, साउदी अरब, कतार, कुवेत र ओमान लगायतबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क लाग्ने छैन।

त्यस्तै, जापान, दक्षिण कोरिया, मलेसिया र अस्ट्रेलिया लगायत एसिया–प्रशान्त क्षेत्रका मुलुकबाट पनि निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध हुने जनाइएको छ।

युरोपतर्फ बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्स लगायतका मुलुकबाट नेपाल पैसा पठाउँदा पनि सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ। न्युजिल्यान्डबाट पठाइने रेमिट्यान्समा समेत यो सुविधा लागू हुनेछ।

कम्पनीका अनुसार सिटी एक्सप्रेस तथा यसका विभिन्न अन्तर्राष्ट्रिय च्यानलमार्फत यो सुविधा उपलब्ध हुनेछ। सेवा शुल्क मिनाहाले विदेशमा रहेका नेपालीलाई विपद्बाट प्रभावित परिवार तथा आफन्तलाई आर्थिक सहयोग पठाउन थप सहज हुने अपेक्षा गरिएको छ।

सिटी एक्सप्रेसले विपद्को समयमा आर्थिक सहयोग पठाउन चाहने नेपालीलाई यो सुविधाको उपयोग गर्न आग्रह गरेको छ।


प्रतिक्रिया