एनपीएलको तेस्रो संस्करणको प्रसारण अधिकार टुंगियो, क्यानले पाउने ३२ करोड ४८ लाख
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टेलिभिजन तथा ओटीटी प्रसारण अधिकार टुंगो लगाएको छ। टेलिभिजनतर्फ Himalaya Television र ओटीटीतर्फ NetTV ले प्रसारण अधिकार प्राप्त गरेका छन्।
क्यानका अनुसार नेट टीभीले १८ करोड ४ लाख रुपैयाँमा विश्वव्यापी ओटीटी प्रसारण अधिकार खरिद गरेको हो। यस्तै, हिमालय टेलिभिजनले १४ करोड ६४ लाख रुपैयाँमा नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार पाएको छ।
दुवै अधिकारबाट क्यानले कुल ३२ करोड ४८ लाख रुपैयाँ प्राप्त गर्नेछ। क्यान स्रोतका अनुसार यो रकम एनपीएलका अघिल्ला दुई संस्करणको तुलनामा बढी हो।
एनपीएलको पहिलो र दोस्रो संस्करण भारतीय खेलकुद च्यानल Star Sports बाट प्रत्यक्ष प्रसारण भएका थिए। पहिलो संस्करणमा डिसहोमको युट्युब च्यानलमार्फत खेल निःशुल्क हेर्न सकिने व्यवस्था गरिएको थियो।
दोस्रो संस्करणमा नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार कान्तिपुर म्याक्सले लिएको थियो भने विश्वव्यापी प्रसारण स्टार स्पोर्ट्स तथा डिसहोमको ओटीटीमार्फत गरिएको थियो।
तेस्रो संस्करणमा पनि स्टार स्पोर्ट्सबाट एनपीएलका खेलहरू प्रसारण हुने सम्भावना रहेको बताइएको छ।
इसेवालाई टिकट बिक्री अधिकार
यसैबीच, क्यानले एनपीएलको तेस्रो संस्करणको टिकट बिक्री अधिकार eSewa लाई दिएको छ।
इसेवाले ८५ लाख रुपैयाँमा टिकटिङ अधिकार प्राप्त गरेको हो। सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानलाई र ५ प्रतिशत इसेवालाई जानेछ।
एनपीएलको तेस्रो संस्करणमा प्रसारण तथा टिकटिङ अधिकारबाट क्यानले उल्लेख्य आम्दानी गर्ने देखिएको छ। पछिल्ला संस्करणको बढ्दो लोकप्रियता र दर्शक आकर्षणसँगै प्रतियोगिताको व्यावसायिक मूल्यसमेत बढ्दै गएको छ।