विपत्तिको घडीमा एनआरएनए अग्रपंक्तिमा, उपाध्यक्ष मनोज गोर्खालीको नेतृत्वमा भोटेकोशी पीडितलाई राहत

theoutsidenepal.com

विपत्तिको घडीमा एनआरएनए अग्रपंक्तिमा, उपाध्यक्ष मनोज गोर्खालीको नेतृत्वमा भोटेकोशी पीडितलाई राहत

काठमाडौं । नेपालमा प्राकृतिक विपत्ति आइपर्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) पीडित नागरिकको दुःखमा साथ दिन अग्रपंक्तिमा उभिँदै आएको छ। महाभूकम्पदेखि कोरोना महामारी हुँदै पछिल्लो ‘हिमालयन सुनामी’ का रूपमा चर्चामा आएको भोटेकोशी बाढीसम्म एनआरएनएले उद्धार, राहत तथा पुनःस्थापनाका अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

एनआरएनएको यही मानवीय अभियानलाई निरन्तर प्रभावकारी बनाउन संघका वर्तमान उपाध्यक्ष मनोज गोर्खाली अग्रपंक्तिमा खटिएका छन्। विदेशमा रहेर पनि विपत्तिका बेला प्रभावित क्षेत्रमै पुगेर पीडितको अवस्था बुझ्ने, उद्धार तथा राहतमा स्वयंसेवक परिचालन गर्ने र आवश्यक सामग्री उपलब्ध गराउने अभियानमा गोर्खाली सक्रिय रहँदै आएका छन्।

पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगमा पनि गोर्खाली निरन्तर खटिएका छन्। एनआरएनएले बाढी प्रभावितको उद्धार तथा राहतका लागि गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन गरेको छ। बाढी आएको पहिलो दिनदेखि नै प्रभावित क्षेत्रमा पुगेर राहत तथा सहयोग अभियानलाई निरन्तरता दिँदै आएका गोर्खालीले आइतबार नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे मा १८ बाढी प्रभावित घरपरिवारलाई आवश्यक सामग्री वितरण गरेका छन्।

विभिन्न राष्ट्रिय समन्वय परिषद्का पञ्जीकृत सदस्यहरूको विशेष अनुरोधमा ती परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो। राहत प्राप्त गर्ने परिवारमा कुवेतबाट नारायणप्रसाद नेपाल, कतारबाट भरतप्रसाद नेपाल, साउदी अरेबियाबाट विजय कोइरी, अमेरिकाबाट राम कोइरी, साउदी अरेबियाबाट पुष्पहरीप्रसाद नेपाल, बैकुण्ठ नेपाल (ज्ञानी), कल्पना राउत, अमेरिकाबाट ओमन नेपाल, दुबईबाट कुमारप्रसाद नेपाल, साउदी अरेबियाबाट साधुराम थापा मगर, दुबईबाट भरत गौतम, डेनमार्कबाट धर्मकुमार शाही, दुबईबाट निर्मल कोइराला, कतारबाट दीपक ढकाल, कतारबाट सुरजकुमार शाही, अस्ट्रेलियाबाट सन्तोषकुमार थापा मगर, दुबईबाट ज्ञानबहादुर थापा मगर र अस्ट्रेलियाबाट सुरेन्द्र आचार्य रहेका छन्।

राहतस्वरूप १८ घरपरिवारलाई १८ थान ग्यास सिलिन्डर, १८ थान ग्यास चुलो र १८ थान प्रेसर कुकर वितरण गरिएको छ। विपत्तिका कारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका परिवारलाई तत्काल आवश्यक पर्ने आधारभूत सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको हो।

विपत्तिको समयमा देश तथा विदेशमा रहेका नेपालीबीचको सहकार्य, एकता र मानवीय भावना नै सबैभन्दा ठूलो शक्ति भएको उपाध्यक्ष गोर्खालीले बताएका छन्। उनले एनआरएनएको मानवीय अभियानलाई थप प्रभावकारी बनाउन स्वयंसेवक, राष्ट्रिय समन्वय परिषद् तथा विश्वभर रहेका नेपालीबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।

गोर्खालीले राहत अभियानमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै संघका केन्द्रीय उपाध्यक्ष तिलक गैरे तथा उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

नेपालमा विपत्ति पर्दा विदेशमा रहेका नेपाली केवल आर्थिक सहयोगमा सीमित नभई प्रभावित क्षेत्रमै पुगेर हातेमालो गर्न सक्ने उदाहरणका रूपमा गोर्खालीको सक्रियतालाई लिन सकिन्छ। उद्धार, राहत र पुनःस्थापनाको कठिन यात्रामा पीडित नागरिकको दुःखमा साथ दिन गैरआवासीय नेपाली समुदाय सधैं अग्रसर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

द टन न्युज
देशदेखि विश्व जोड्ने अभियान



प्रतिक्रिया