धादिङ — धादिङवासीको अपार माया, उत्साह र समर्थनबीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा चर्चित बालेन्द्र शाहको धादिङ आगमन भएको छ। उहाँको स्वागतमा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
धादिङ निर्वाचन क्षेत्र नं. १ की घण्टीवाहक उम्मेदवार आशिका तामाङ पनि कार्यक्रममा सहभागी भई शाहसँगै जनतासँग भेटघाट तथा संवादमा जुट्नुभयो। आगमनका क्रममा स्थानीयबासीले उत्साहपूर्वक स्वागत गर्दै परिवर्तन र विकासको अपेक्षा व्यक्त गरेका थिए।
उक्त अवसरमा आशिका तामाङले सामाजिक सञ्जालमार्फत धादिङवासीको माया, साथ र समर्थनप्रति आभार व्यक्त गर्दै बालेन्द्र शाहको आगमनलाई ऐतिहासिक अवसरका रूपमा उल्लेख गर्नुभएको छ। कार्यक्रममा सहभागीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति बढ्दो आकर्षण र आगामी निर्वाचनमा परिवर्तनको सन्देश बलियो हुँदै गएको बताएका थिए।
पार्टीका नेताहरूले जनताको अपेक्षा अनुसार सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। धादिङमा आयोजित कार्यक्रमले आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक माहोल थप तातेको संकेत दिएको छ।