एफएनसीसीआई अध्यक्षबाट चन्द्रप्रसाद ढकालको बिदाइ, अन्जन श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण

theoutsidenepal.com

एफएनसीसीआई अध्यक्षबाट चन्द्रप्रसाद ढकालको बिदाइ, अन्जन श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ का निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल ले आफ्नो कार्यकाल औपचारिक रूपमा सम्पन्न गर्दै अध्यक्षको जिम्मेवारी अन्जन श्रेष्ठ लाई हस्तान्तरण गरेका छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो कार्यकाल समापनको घोषणा गर्दै ढकालले महासङ्घ नेतृत्वको यात्रा आफ्नो जीवनकै गौरवपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। महासङ्घ स्थापना भएकै वर्षमा आफ्नो जन्म हुनु र ग्रामीण परिवेशबाट उठेर सोही संस्थाको नेतृत्व गर्ने अवसर पाउनु आफूका लागि विशेष संयोग र सम्मानको विषय भएको उनले बताएका छन्।


ढकालले आफ्नो कार्यकाल चुनौतीपूर्ण आर्थिक परिवेशबीच सुरु भएको स्मरण गर्दै सहकार्य, नीतिगत सुधार र संस्थागत रूपान्तरणमार्फत निजी क्षेत्रलाई ‘दबाब समूह’बाट ‘विकास साझेदार’को रूपमा स्थापित गर्ने प्रयास गरेको उल्लेख गरेका छन्। उनले लगानीमैत्री वातावरण निर्माण, आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धन तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा निरन्तर पहल गरिएको बताएका छन्।


उनका अनुसार कार्यकालका प्रमुख उपलब्धिहरूमा राष्ट्रिय आर्थिक बहसलाई संस्थागत बनाउने, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमार्फत कानुनी सुधारको आधार तयार गर्ने, “नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड” स्थापना गर्ने तथा महासङ्घको विधान संशोधनमार्फत नेतृत्व चयन प्रक्रियालाई थप पारदर्शी बनाउने कार्यहरू रहेका छन्।


ढकालले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने नेपाल सरकार, नियामक निकाय, महासङ्घका अग्रज तथा पूर्वअध्यक्षहरू, वर्तमान कार्यसमिति, देशभरिका व्यवसायी, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। साथै, परिवार र सहकर्मीप्रति विशेष कृतज्ञता प्रकट गरेका छन्।


नवनियुक्त अध्यक्ष श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै ढकालले आगामी दिनहरूमा पनि निजी क्षेत्रको सुदृढीकरण र देशको आर्थिक विकासमा आफ्नो निरन्तर योगदान रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया