मेरिल्यान्डमा नेपाली समुदायको प्रतिनिधित्वका लागि सतिश चापागाईको उम्मेदवारी, मतदानमा सहभागी हुन अपिल

theoutsidenepal.com

मेरिल्यान्डमा नेपाली समुदायको प्रतिनिधित्वका लागि सतिश चापागाईको उम्मेदवारी, मतदानमा सहभागी हुन अपिल


अमेरिका, मेरिल्यान्ड। मेरिल्यान्ड राज्यको District 7A बाट Delegate पदका उम्मेदवार तथा एनआरएनए यूएसएका सल्लाहकार सतिश चापागाईको उम्मेदवारीलाई नेपाली समुदायले चासोका साथ हेरेको छ। आगामी निर्वाचनलाई नेपाली समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्व विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।


एनआरएनए एनसीसी यूएसएका अध्यक्ष सतेन्द्र साहले एक अपिल जारी गर्दै District 7A अन्तर्गत मतदान गर्ने अधिकार भएका सम्पूर्ण मतदाताहरूलाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। विशेषगरी नेपाली समुदायलाई मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न उनले अनुरोध गरेका छन्।


सामुदायिक सेवामा लामो समयदेखि सक्रिय रहँदै आएका सतिश चापागाई इमानदार, सहयोगी र समुदायप्रति समर्पित नेतृत्वका रूपमा परिचित रहेको उल्लेख गर्दै साहले उनको उम्मेदवारीले नेपाली समुदायको आवाजलाई अमेरिकी मूलधारको राजनीतिमा अझ सशक्त रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।


“हामी जुनसुकै विचार वा समूहसँग सम्बन्धित भए पनि योग्य, इमानदार र समुदायप्रति समर्पित नेतृत्वलाई साथ दिनु आवश्यक छ। आजको हाम्रो सहभागिताले भोलिको नेतृत्व निर्माण गर्छ,” अध्यक्ष साहले जारी गरेको सन्देशमा उल्लेख छ।


नेपाली समुदायको उपस्थितिलाई अझ मजबुत बनाउने उद्देश्यसहित सबैलाई मतदानमा सहभागी हुन आह्वान गरिएको छ। एक मतले सकारात्मक परिवर्तनको आधार निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै समुदायलाई एकजुट हुन आग्रह गरिएको छ।


प्रतिक्रिया