द टन न्युज । विशेष रिपोर्ट
कांग्रेसको नेतृत्वमा नयाँ जिम्मेवारीका लागि दिनेश कोइरालाको तयारी, खस–आर्यतर्फबाट सह–महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा खस–आर्यतर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। पार्टीभित्र संगठन सुदृढीकरण, विचारको संस्थागत विकास र कार्यकर्ताको भावनालाई नेतृत्व तहसम्म पुर्याउने उद्देश्यसहित उनले आफ्नो उम्मेदवारी अघि बढाउन लागेको बताएका छन्।
आफ्नो अन्तरमनको आवाज तथा पार्टीका अग्रज नेताहरूको सुझावलाई आत्मसात् गर्दै सह–महामन्त्री पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको कोइरालाको भनाइ छ। उनले आफ्नो उम्मेदवारीलाई केवल व्यक्तिगत राजनीतिक आकांक्षाका रूपमा नभई नेपाली कांग्रेसलाई थप बलियो, संगठित, गतिशील र जनमुखी बनाउने अभियानका रूपमा अघि बढाउने बताएका छन्।
विचार, विश्वास र संगठनप्रतिको प्रतिबद्धतालाई केन्द्रमा राख्दै नेतृत्व तहमा जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले आफू चुनावी मैदानमा आउन लागेको कोइरालाले बताएका छन्। पार्टीको नीति, सिद्धान्त र संगठनात्मक संरचनालाई थप प्रभावकारी बनाउँदै नेता–कार्यकर्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आफूले भूमिका खेल्ने उनको धारणा छ।
कोइरालाले नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा महाधिवेशन प्रतिनिधिहरूसँग साथ, समर्थन, विश्वास र अमूल्य सुझावका लागि अपिल गरेका छन्। उनले सबैको भावना र सुझावलाई सम्मान गर्दै सामूहिक नेतृत्वको भावनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको अभियानको मूल सन्देश ‘सँगै उभिऔँ, सँगै अघि बढौँ र नेपाली कांग्रेसलाई अझ बलियो बनाऔँ’ भन्ने रहेको छ।
खस–आर्यतर्फबाट सह–महामन्त्री पदका लागि उम्मेदवारीको तयारीसँगै कोइरालाले पार्टी संगठनभित्र आफ्नो राजनीतिक सक्रियता र अभियानलाई तीव्र बनाउने संकेत गरेका छन्। उनको उम्मेदवारीले कांग्रेसको आगामी नेतृत्व चयनमा खस–आर्यतर्फको प्रतिनिधित्व र नेतृत्व बहसलाई थप रोचक बनाउने देखिएको छ।