भारतद्वारा नेपाललाई निर्वाचन सहयोगस्वरूप २५० भन्दा बढी सवारी साधन हस्तान्तरण

theoutsidenepal.com

काठमाडौं । भारत सरकारले नेपाल सरकारको आगामी निर्वाचन तयारीका लागि दोस्रो चरणअन्तर्गत २५० भन्दा बढी एसयूभी र डबल–क्याब पिकअप सवारी साधन हस्तान्तरण गरेको छ।


आज अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि भारतीय दूतावासका Charge d’Affaires a.i. डा. राकेश पाण्डेले उक्त सवारी साधनहरू नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।


कार्यक्रममा नेपाल सरकारका माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको उपस्थिति रहेको थियो।


नेपाल सरकारको अनुरोधअनुसार भारत सरकारले निर्वाचन तयारीका लागि सवारी साधन तथा अन्य सामग्री उपहारस्वरूप प्रदान गर्दै आएको छ। यसअघि २० जनवरी २०२६ मा पहिलो चरणअन्तर्गत ६० भन्दा बढी डबल–क्याब पिकअप सवारी साधन हस्तान्तरण गरिएको थियो।


भारतीय दूतावासका अनुसार आगामी हप्ताहरूमा थप सवारी साधन तथा सामग्रीहरू चरणबद्ध रूपमा हस्तान्तरण गरिनेछ। यस पटकको निर्वाचनका लागि भारतले करिब ६५० वटा सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


अर्थमन्त्री खनालले भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गर्दै यस सहयोगले नेपालको स्वतन्त्र, निष्पक्ष र प्रभावकारी निर्वाचन सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।


भारत र नेपालबीच सन् २००८ देखि निर्वाचनसम्बन्धी सहयोग निरन्तर हुँदै आएको छ। हालसम्म भारतले नेपालका विभिन्न मन्त्रालय, विभाग तथा निर्वाचन आयोगका लागि करिब २,४०० सवारी साधन सहयोगस्वरूप उपलब्ध गराइसकेको छ।


यस सहयोगले नेपाल–भारतबीचको दीर्घकालीन मैत्री, आपसी विश्वास र बहुआयामिक साझेदारी सम्बन्धलाई थप सुदृढ बनाएको दुवै पक्षले बताएका छन्।


प्रतिक्रिया