विद्युतीय सवारीमा भाडा वृद्धि लागू नहुने—यातायात विभागको स्पष्ट निर्देशन

theoutsidenepal.com

काठमाडौं । यातायात व्यवस्था विभागले हालै बढाइएको सार्वजनिक सवारी साधनको भाडा विद्युतीय सवारी (EV) मा लागू नहुने स्पष्ट पारेको छ। विभागले सूचना जारी गर्दै डिजेल इन्जिनबाट सञ्चालन हुने सवारी साधनमा मात्र भाडा वृद्धि गरिएको जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि स्वचालित भाडा समायोजन प्रणाली अनुसार गत चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरिएको थियो। तर, विभागका अनुसार उक्त निर्णय केवल डिजेलबाट चल्ने यात्रुवाहक तथा मालवाहक सवारीमा मात्र सीमित छ।


सूचनामा उल्लेख छ, “विद्युतीय सवारी साधनको हकमा उक्त भाडा वृद्धि लागू नहुने व्यहोरा अनुरोध गर्दछौँ। विद्युतीय सवारीमा साविककै भाडादर कायम रहेको छ।”

पछिल्लो समय केही विद्युतीय सवारी चालक तथा सेवा प्रदायकहरूले बढेको भाडा असुल गरेको तथा यात्रुलाई अनिवार्य रूपमा दिनुपर्ने टिकट समेत नदिएको गुनासो आएपछि विभागले यस्तो स्पष्टीकरण दिएको हो।

यसैबीच, विभागले सबै यातायात व्यवसायीलाई यात्रुसँग साविककै भाडा लिन र अनिवार्य रूपमा टिकट प्रदान गर्न निर्देशन दिएको छ। निर्देशन उल्लंघन गरी बढी भाडा असुलेको वा नियम पालना नगरेको पाइएमा ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ र ‘सवारी तथा यातायात व्यवस्था नियमावली २०५४’ अनुसार कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया