गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्की उपाध्यक्ष जुनु गुरुङले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण महिलाप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले जारी गर्नुभएको सन्देशमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस संसारभरका महिलाहरूमा समानताको हक स्थापित गर्ने प्रेरणादायी दिवस भएको उल्लेख गर्नुभएको छ। इतिहासका अनगिन्ती संघर्ष, साहस र त्यागले निर्माण गरेको यस गौरवपूर्ण दिवसले महिला शक्ति, धैर्य र मानवताप्रतिको समर्पणलाई स्मरण गराउने उहाँको भनाइ छ।
गुरुङले न्याय, समानता र मानवताको मार्गमा अघि बढ्ने सभ्य समाज निर्माणमा महिलाले पुर्याएको योगदान सदैव सम्मानयोग्य र प्रेरणादायी रहँदै आएको बताउनुभएको छ। उहाँका अनुसार महिलाको सौम्यता, संवेदनशीलता, साहस र सकारात्मक ऊर्जाले समाजमा आशा, विश्वास र प्रेरणाको उज्यालो फैलाउने सामर्थ्य राख्छ।
सन्देशमा महिलाको स्नेहले परिवारलाई एकताको सूत्रमा बाँध्ने, सहानुभूतिले समाजलाई मानवतासँग जोड्ने तथा साहस र आत्मविश्वासले भविष्यलाई उज्यालो दिशातर्फ अग्रसर गराउने उल्लेख गरिएको छ। महिलालाई सभ्यता, संस्कृति र प्रगतिका आधारस्तम्भका रूपमा सम्मान गर्नुपर्ने उहाँको धारणा छ।
यस अवसरमा गुरुङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूको सुस्वास्थ्य, सुख र समृद्धिको कामना व्यक्त गर्दै महिलाको प्रत्येक दिन आत्मविश्वास, उत्साह र उपलब्धिले भरिपूर्ण बनोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।
उहाँले “महिला सम्मानित हुँदा समाज सम्मानित हुन्छ, महिला सशक्त हुँदा राष्ट्र सशक्त हुन्छ र महिला सुरक्षित हुँदा भविष्य सुरक्षित हुन्छ” भन्ने सन्देशलाई आत्मसात गर्दै समानता, न्याय र मानवताको यात्रामा निरन्तर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।