अफवाह नियन्त्रणमा गम्भीर बन्नुपर्ने आवश्यकता छ : आईजीपी दानबहादुर कार्की
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले सामाजिक सञ्जालमार्फत फैलिने अफवाह र अपुष्ट सूचनाप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।
एक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले गल्फ मुलुकहरूमा युद्ध वा बमबारीजस्ता संवेदनशील घटनाका बेला पनि जो–पायो त्यही व्यक्तिले समाचार वा भिडियो सार्वजनिक नगर्ने वातावरण रहेको बताए। त्यहाँ दूरसञ्चार तथा सञ्चार प्रणाली कानुनी निगरानीमा रहने भएकाले अफवाह फैलिन नपाउने र नागरिकमा अनावश्यक त्रास सिर्जना नहुने उनको भनाइ थियो।
उनले नेपालमा भने सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट जथाभावी सूचना फैलिने प्रवृत्ति रहेको उल्लेख गर्दै कसले कसलाई, कसरी र किन सम्पर्क गरिरहेको छ भन्ने विषयमा प्रभावकारी पहिचान र निगरानी प्रणाली कमजोर रहेको बताए।
आईजीपी कार्कीले अहिलेको संवेदनशील परिस्थितिमा अफवाह, भ्रामक सूचना तथा अपुष्ट सामग्रीको प्रसारणले समाजमा अनावश्यक भय र अस्थिरता निम्त्याउन सक्ने भएकाले यस विषयमा राज्य, सञ्चारमाध्यम र नागरिक सबै गम्भीर बन्न आवश्यक रहेकोमा जोड दिए।
उनले सत्यतथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न, कानुनको सम्मान गर्न तथा जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न सबैसँग आग्रह गरेका छन्।