बुवाको निधनपछि भावुक बने मेसी, ‘म अब फुटबलमा कति लामो समय रहन्छु, थाहा छैन’

theoutsidenepal.com

बुवाको निधनपछि भावुक बने मेसी, ‘म अब फुटबलमा कति लामो समय रहन्छु, थाहा छैन’

विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर लियोनेल मेसी आफ्ना पिता जर्ज मेसीको निधनपछि भावुक बनेका छन्। जर्ज मेसीको गत अगस्ट ८ मा ६८ वर्षको उमेरमा लामो समयदेखि स्वास्थ्य समस्यासँग जुध्दै निधन भएको थियो। उनी मेसीका पिता मात्र नभई किशोरावस्थादेखि नै उनका एजेन्ट तथा व्यावसायिक सल्लाहकारसमेत थिए।

पिताको निधनपछि सामाजिक सञ्जालमार्फत लामो भावुक सन्देश सार्वजनिक गर्दै मेसीले आफूले बुवासँगको सम्बन्ध, बाल्यकालदेखि फुटबल यात्रासम्मका सम्झना र पछिल्लो विश्वकपसँग जोडिएको पीडा व्यक्त गरेका छन्।

मेसीले बुवालाई सम्झँदै आफूले अब उनलाई भेट्न र कुरा गर्न नपाउने कुरा अझै विश्वास गर्न नसकेको बताएका छन्। बुवाले आफूलाई अन्तिम विश्वकप खेल्न निरन्तर आग्रह गरेको र विश्वकप सुरु हुनुभन्दा केही दिनअघि उनको स्वास्थ्य अवस्था बिग्रिएको मेसीले उल्लेख गरेका छन्। बुवा ठीक भएर यात्रा गर्न सक्ने आशा आफूले राखेको र अर्जेन्टिना फाइनलसम्म पुग्ने तथा बुवाले आफ्नो खेल प्रत्यक्ष हेर्न पाउने सपना देखेको उनले बताएका छन्।

मेसीले बुवासँग आफ्नो फुटबल करियरका लगभग सबै कुरा खुलेर कुरा हुने गरेको स्मरण गर्दै विश्वकपको विषय भने आफूहरूबीच पूरा हुन नसकेको एउटा अधुरो कुराका रूपमा उल्लेख गरेका छन्।

सबैभन्दा भावुक क्षणमा मेसीले लेखेका छन् कि अब आफूले फुटबलमा कति लामो समय निरन्तरता दिन सक्छु भन्नेमा नै उनलाई गम्भीर शंका उत्पन्न भएको छ। बुवा आफ्नो फुटबल यात्राको सुरुदेखि अन्त्यसम्म साथमा रहेको भन्दै उनले बुवाले अझ केही समय पर्खिदिएको भए आफूहरूले यो यात्रा सँगै पूरा गर्न पाउने बताएका छन्। 

मेसीले बाल्यकाल सम्झँदै बुवाले कामबाट फर्किएपछि आफूलाई प्रशिक्षणमा लैजाने, आफ्नो खेल हेर्न कहिल्यै नछुटाउने र मैदानमा आफूलाई खेलिरहेको देख्दा कहिले खुसी त कहिले चिन्तित हुने गरेको बताएका छन्।

उनले बुवालाई ‘पिता, साथी र प्रतिनिधि’ का रूपमा सम्झिएका छन्। आफ्ना सन्तानको पालनपोषण र शिक्षामा पनि आफूले बुवाबाट सिकेको संस्कारलाई निरन्तरता दिने मेसीले बताएका छन्।

सन्देशको अन्त्यमा मेसीले बुवालाई शान्तिको कामना गर्दै आफूहरूलाई माथिबाट पनि पहिलेझैँ हेरचाह गरिरहन आग्रह गरेका छन्।


प्रतिक्रिया