अमेरिकामा कार्यरत नेपाली युवाको दुःखद निधन, वरिष्ठ समाजसेवी हेम थापा शोकमा

theoutsidenepal.com

अमेरिकामा कार्यरत नेपाली युवाको दुःखद निधन, वरिष्ठ समाजसेवी हेम थापा शोकमा


काठमाडौं, असार १८। अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ समाजसेवी हेम थापा र मायाँ थापाका कान्छा छोराको अमेरिकामा दुःखद निधन भएको छ। उनी अमेरिकी सेनामा कार्यरत थिए।


मृतकका बुवा हेम थापाका अनुसार केही समयअघि मात्र उनको पदोन्नति (प्रोमोशन) भएको थियो। त्यसपछि उनले बिदा लिएर अमेरिकामै आफ्ना आमा–बुवा तथा परिवारसँग खुसीका पल बिताएका थिए। बिदा सकिएपछि उनी पुनः आफ्नो ड्युटीमा फर्किएका थिए।


मृतकका बुवा हेम थापाका अनुसार, ड्युटीका क्रममा हतियार सञ्चालन गर्ने क्रममा भएको दुर्घटनामा गोली आफ्नै कन्चटमा लाग्दा घटनास्थलमै उनको निधन भएको हो। घटनापछि सम्बन्धित अमेरिकी निकायले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।


यस घटनाले थापा परिवारलाई गहिरो शोकमा डुबाएको छ। दुःखद खबर सार्वजनिक भएपछि देश–विदेशबाट हेम थापा र मायाँ थापालाई असंख्य फोन तथा सन्देश आए पनि अत्यन्त पीडाका कारण उहाँहरूले धेरैलाई प्रतिक्रिया दिन सक्नुभएको थिएन।


हिजो हेम थापाले फेसबुकमा दुईवटा अत्यन्त मार्मिक स्टाटस सार्वजनिक गर्नुभएको थियो। पहिलो स्टाटसमा उहाँले लेख्नुभएको थियो, “जीवनको सबैभन्दा दुःखद घडी…”


दोस्रो स्टाटसमा उहाँले लेख्नुभएको थियो:


मेरो जीवनमा नसोचेको भयो… मेरो  मेरा परिवारको खुसी शत्रुले मात्र होइनभगवानले समेत देख्न सकेनन्…! कति मार्नुछ मारभगवान… जिउँदो लास भएर बाँचेकै हो… अझै बाँचुला… सहुला…!”


घटनाबारे स्टाटसमा स्पष्ट विवरण नखुलाइएकाले धेरै शुभेच्छुक तथा चिनेजानेका व्यक्तिहरूमा जिज्ञासा र विभिन्न अनुमानहरू उत्पन्न भएका थिए।


यही विषयमा आज वरिष्ठ समाजसेवी हेम थापासँग करिब २ मिनेट २८ सेकेन्ड कुराकानी भएको थियो। गहिरो शोक र पीडाका बीच पनि उहाँले आफ्नो परिवारमाथि आइपरेको यो असह्य घटनाबारे जानकारी दिनुभएको हो।


मृतकका बुवा हेम थापाका अनुसार, अमेरिकी कानुनी प्रक्रिया पूरा नभएकाले हालसम्म परिवारले छोराको शव प्राप्त गर्न सकेको छैन। आवश्यक कानुनी प्रक्रिया सम्पन्न भएपछि मात्र शव परिवारलाई हस्तान्तरण गरिनेछ।


यस दुःखद घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त हेम थापा, मायाँ थापा तथा सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

प्रतिक्रिया