वंशजका आधारमा नागरिकताको निरन्तरता र विदेशस्थित नेपालीको मतदान अधिकार सुनिश्चित गर्न संवैधानिक पुनरावलोकनको माग

theoutsidenepal.com

वंशजका आधारमा नागरिकताको निरन्तरता र विदेशस्थित नेपालीको मतदान अधिकार सुनिश्चित गर्न संवैधानिक पुनरावलोकनको माग

काठमाडौं । अमेरिकास्थित एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज (ANA) ले वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकको मतदान अधिकारको व्यवस्था गर्न संविधानको पुनरावलोकन र दीर्घकालीन नीतिगत सुधार गर्न सरकारसँग आग्रह गरेको छ।

जुलाई २, २०२६ मा वाशिङ्टन डी.सी.बाट जारी प्रेस विज्ञप्तिमा एएनएले नागरिकता केवल कानुनी वा प्रशासनिक कागजात मात्र नभई राज्य र नागरिकबीचको संवैधानिक सम्बन्ध, राष्ट्रिय पहिचान, ऐतिहासिक निरन्तरता र भावनात्मक एकताको आधार भएको उल्लेख गरेको छ।


विज्ञप्तिअनुसार विश्वभर बसोबास गर्ने नेपाली मूलका लाखौँ व्यक्तिले भाषा, संस्कृति, परम्परा र पारिवारिक सम्बन्धमार्फत नेपालसँग आफ्नो सम्बन्ध कायम राखेका छन्। उनीहरूको योगदान रेमिट्यान्समा मात्र सीमित नभई शिक्षा, प्रविधि, लगानी, अनुसन्धान, नवप्रवर्तन, सांस्कृतिक कूटनीति तथा नेपालको अन्तर्राष्ट्रिय छवि प्रवर्द्धनमा समेत महत्वपूर्ण रहेको एएनएको भनाइ छ।


एएनएले वंशजका आधारमा नागरिकताको निरन्तरता सुनिश्चित गर्नु व्यक्तिगत अधिकारको विषय मात्र नभई नेपाल र विश्वभर रहेका भावी नेपाली पुस्ताबीच दीर्घकालीन संवैधानिक सम्बन्ध कायम गर्ने विषय भएको जनाएको छ।

त्यसैगरी, विदेशमा रहेका योग्य नेपाली नागरिकलाई मतदानको अधिकार उपलब्ध गराउने विषयलाई लोकतान्त्रिक समावेशिताको महत्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउनुपर्ने एएनएको धारणा छ। धेरै लोकतान्त्रिक मुलुकहरूले दूतावासमार्फत मतदान, हुलाकमार्फत मतदान तथा अन्य सुरक्षित र प्रमाणित प्रणालीमार्फत विदेशस्थित नागरिकलाई निर्वाचनमा सहभागी गराउँदै आएको उदाहरण दिँदै नेपालले पनि अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी आफ्नो संवैधानिक व्यवस्था, राष्ट्रिय सुरक्षा र निर्वाचनको विश्वसनीयताअनुकूल प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ।

एएनएले यी विषयलाई कुनै राजनीतिक दल विशेषको मागका रूपमा नभई राष्ट्रिय सहमति, संवैधानिक परिमार्जन र दीर्घकालीन नीतिगत दृष्टिकोण आवश्यक पर्ने राष्ट्रिय मुद्दाका रूपमा लिन आग्रह गरेको छ।

साथै, नेपाल सरकार, संघीय संसद, राजनीतिक दल, संवैधानिक निकाय, नागरिक समाज तथा विश्वभरका नेपाली समुदायलाई यस विषयमा ढिलाइ नगरी उच्चस्तरीय राष्ट्रिय संवाद सुरु गर्न एएनएले आह्वान गरेको छ।

उक्त प्रेस विज्ञप्तिमा एएनएका अध्यक्ष खगेन्द्र अधिकारी ले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया