Non-Resident Nepali Association एकताका लागि राज रेग्मीको आह्वान: “संस्था विभाजनको कोमाबाट जोगाउन युवाको नेतृत्व आवश्यक”

theoutsidenepal.com

काठमाडौँ।Non-Resident Nepali Association (एनआरएनए) का आईसीसीका प्रभावशाली नेता Raj Regmi ले संस्थामा देखिएको विभाजन अन्त्य गरी वास्तविक एकता कायम गर्न सबै अभियन्तालाई आह्वान गरेका छन्।


सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा उनले पछिल्लो समय एनआरएन अभियान मूल उद्देश्यबाट विचलित भई पदीय स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा र समूहगत प्रतिस्पर्धाका कारण विभाजन र अविश्वासको संकटमा पुगेको बताएका छन्। उनका अनुसार पछिल्ला दुई कार्यकालदेखि संस्था स्पष्ट रूपमा दुई धारमा विभाजित रहेको छ।


रेग्मीले विगतमा एकताको अधिवेशनका प्रयास भए पनि पूर्ण तयारी बिना गरिएको प्रयासले वास्तविक एकता हुन नसकेको उल्लेख गर्दै अब बाह्य आरोप–प्रत्यारोप भन्दा पनि सबैको अन्तरआत्माबाट सच्चा एकताको भावना आवश्यक रहेको बताएका छन्।


उनले नेपालमा हाल देखिएको Gen Z Movement in Nepal जस्तै परिवर्तनकारी ऊर्जा एनआरएन अभियानमा पनि आवश्यक रहेको भन्दै युवाहरूको व्यापक सहभागिता र नेतृत्व बिना संस्था सही मार्गमा अघि बढ्न नसक्ने बताएका छन्।


उनका अनुसार पूर्वनिर्धारित मिति अनुसार एनआरएनएको एकताको अधिवेशन आउन अब चार दिन मात्र बाँकी रहेको भए पनि अझै आन्तरिक असहमति, प्राविधिक तयारीको अभाव तथा मध्यपूर्वको परिस्थितिका कारण धेरै प्रतिनिधिहरू नेपाल आउन नसक्ने अवस्था रहेको छ।


रेग्मीले यस्तो अवस्थामा सीमित व्यक्तिको उपस्थितिमा मात्र निर्वाचन गरेर नेतृत्व चयन गर्नु भन्दा सबैलाई समेट्ने सहमति र समन्वयमार्फत दिगो एकता कायम गर्नुपर्ने बताएका छन्। उनले सम्भव भएसम्म उदाहरणीय सर्वसम्मत नेतृत्व चयन गर्न वा सबैको सहमति अनुसार मिति तय गरेर वास्तविक एकताको अधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्।


उनले अन्त्यमा गुट–उपगुट र आरोप–प्रत्यारोपभन्दा माथि उठेर विभाजनले कमजोर बनेको संस्थाको साख जोगाउन सबै अभियन्ता एक ठाउँमा बसेर वार्ता गर्नुपर्ने बताएका छन्।


प्रतिक्रिया