यूएईमा पहिलोपटक ‘जीसीडी नेपाली प्रिमियर लिग’ हुँदै, चार टोलीबीच प्रतिस्पर्धा

theoutsidenepal.com

यूएईमा पहिलोपटक ‘जीसीडी नेपाली प्रिमियर लिग’ हुँदै, चार टोलीबीच प्रतिस्पर्धा

संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली क्रिकेटको विकास र प्रवद्र्धनसँगै नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले ‘जीसीडी नेपाली प्रिमियर लिग यूएई’ को पहिलो संस्करण आयोजना हुने भएको छ।

आगामी सेप्टेम्बर ५ देखि २६ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा हुनेछन्। प्रतियोगितामा नेपालिज क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज, एभरेस्ट वारियर्स अबुधाबी र नेपाल टाइटन्स क्रिकेट क्लब गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। कुल सात खेल हुने लिगका खेलहरू प्रत्येक शनिबार राति ९ बजे र ११ः५९ बजे सञ्चालन हुनेछन्। सेप्टेम्बर २६ मा फाइनल तथा समापन समारोह आयोजना गरिनेछ।

दुबईस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठनेपाल कन्सुलेट जनरल, दुबईका कन्सुल कुञ्जन शाहले यूएईमा रहेका नेपाली क्रिकेट प्रतिभालाई अवसर प्रदान गर्न प्रतियोगिता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

प्रतियोगिताको नियमअनुसार प्रत्येक टोलीमा १७ खेलाडी रहनेछन् भने खेलका लागि मैदानमा उत्रने ११ सदस्यीय टोलीमा कम्तीमा ९ जना नेपाली र बढीमा ३ जना विदेशी खेलाडी समावेश गर्न पाइनेछ। विजेता टोलीले ५ हजार यूएई दिराम तथा उपविजेताले २ हजार यूएई दिरामसहित ट्रफी, पदक र व्यक्तिगत विधाका पुरस्कार प्राप्त गर्नेछन्।

दर्शकलाई सहजताका लागि आयोजकले बुर्ज दुबई, अल क्वोज र सोनापुरबाट खेल मैदानसम्म निःशुल्क बस सेवा समेत उपलब्ध गराउने जनाएको छ।

यसैबीच, प्रतियोगिता आयोजकले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालका बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।

जीसीडी ग्रुप मुख्य प्रायोजक तथा अल फरदान एक्सचेन्ज प्लाटिनियम स्पोन्सर रहेको प्रतियोगिताले यूएईमा नेपाली क्रिकेटको विकास, खेलाडीको प्रतिभा पहिचान र नेपाली समुदायबीचको एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया