काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष डा. शेष घले ले संसारभर रहेका नेपाली युवालाई केवल व्यवसाय सुरु गर्नेमा सीमित नहुई, विश्वव्यापी प्रभाव सिर्जना गर्न आह्वान गर्नुभएको छ।
शनिबार जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन ग्लोबल युथ नेटवर्क द्वारा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै डा. घलेले उद्यमशीलता केवल व्यवसाय निर्माण गर्ने माध्यम भए पनि, उद्यमी स्वभावले मूल्य निर्माण गर्ने बताए। “उद्यमशीलताले व्यवसाय निर्माण गर्छ, तर उद्यमी स्वभावले मूल्य निर्माण गर्छ,” उहाँले जोड दिनुभयो।
उहाँले विश्वका विभिन्न मुलुकमा एक करोडभन्दा बढी नेपाली बसोबास गरिरहेको उल्लेख गर्दै यसलाई ‘ब्रेन डिस्ट्रीब्युसन’ का रूपमा हेर्नुपर्ने बताए। साथै युवालाई व्यक्तिगत सफलताभन्दा सामूहिक उन्नतितर्फ केन्द्रित हुन आग्रह गर्नुभयो।
डा. घलेले युवाहरूलाई पाँच आधारस्तम्भ प्रस्तुत गर्नुभयो:
१. अवसर दृष्टि: समस्या होइन, सम्भावनाका संकेत।
२. स्रोत बुद्धिमत्ता: आप्रवासी समुदायको सहनशीलता र अनुकूलन क्षमता।
३. वैश्विक–स्थानीय सेतु: नेपाल र विश्वबीच पुल बन्ने।
४. नैतिक आधार: इमानदारी, पारदर्शिता र व्यावसायिकता।
५. राष्ट्रसँग जोडिएको प्रभाव: नेपालसँग सम्बन्ध तोड्नु नहुने।
कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष र वरिष्ठ नेताहरुले युवाहरूलाई नेपाल र प्रवासमा नेपाली पहिचान प्रवर्द्धन गर्न सुझाव दिनुभयो। जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन ग्लोबल युथ नेटवर्क का अध्यक्ष मदन राज पौडेल को सभापतित्वमा संचालित कार्यक्रममा संस्थाका अध्यक्ष डा. यादव पण्डित ले फाउन्डेशनले नेपाली समुदायलाई जोड्ने माध्यमको रूपमा काम गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रमको क्रममा विभिन्न २६ देशमा नयाँ ग्लोबल युथ नेटवर्क च्याप्टरहरू गठन गरिएको र च्याप्टर अध्यक्षहरुको परिचय गराइएको थियो। नवगठित अध्यक्षहरुलाई बधाई र शुभकामना दिइयो भने विगत एक वर्षमा नेटवर्कले गरेका कामहरूको भिडियो पनि प्रस्तुत गरिएको थियो।