११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा शीर्ष राजनीतिक नेतृत्वदेखि विज्ञसम्मको जमघट

theoutsidenepal.com

द टन न्युज ॥ एनआरएनए रिपोर्ट

११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा शीर्ष राजनीतिक नेतृत्वदेखि विज्ञसम्मको जमघट

सभापतिसहित विभिन्न दलका प्रमुख सचेतक, सांसद, पूर्वसांसद, वरिष्ठ पत्रकार तथा विज्ञहरू ग्वाङ्झाउमा

ग्वाङ्झाउ, चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्रशान्त क्षेत्रीय समितिको आयोजनामा चीनको ग्वाङ्झाउमा हुन लागेको ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन–२०२६ (आरोहण) मा नेपालका प्रमुख राजनीतिक दलका नेतृत्व, सांसद, पूर्वसांसद, वरिष्ठ पत्रकार तथा विज्ञहरूको गरिमामय सहभागिता हुने भएको छ।

“Rising Together, Leading Forward” भन्ने मूल नारासहित आगामी अगस्ट १५ र १६, २०२६ मा क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर, ग्वाङ्झाउ, चीनमा आयोजना हुने सम्मेलनमा नेपालको समसामयिक राजनीति, आर्थिक विकास, प्रवासी नेपालीका अधिकार, लगानी, कूटनीति तथा नेपाल–विदेश सम्बन्धलगायतका विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।

प्रमुख राजनीतिक अतिथि तथा वक्ताहरू

सम्मेलनमा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता विष्णु राज आङ्देम्बे प्रमुख राजनीतिक अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ।

त्यस्तै नेकपा (एमाले) का प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य ऐनबहादुर महर, नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य युवराज दुलाल, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य खुश्बु ओलीको पनि सम्मेलनमा सहभागिता रहनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मनिष झा र रास्वपाका प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार, नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य क्षितिज थेबे तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेल पनि सम्मेलनका प्रमुख सहभागीका रूपमा रहनेछन्।

पूर्वसांसददेखि वरिष्ठ पत्रकार र विज्ञसम्म

सम्मेलनमा नेकपा (एमाले) का पूर्वप्रतिनिधिसभा सदस्य सूर्य पाठक तथा पूर्वप्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’को समेत सहभागिता रहनेछ।

त्यसैगरी भूराजनीतिक तथा राजनीतिक विश्लेषक, ऊर्जा उद्यमी एवं पूर्वप्रधानमन्त्रीका पूर्वपरराष्ट्र नीति सल्लाहकार अरुणकुमार सुबेदीले सम्मेलनमा आफ्नो विशेषज्ञता प्रस्तुत गर्नेछन्।

नेपालको पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ पत्रकार तथा कार्यकारी सम्पादक राजेन्द्र बानियाँ पनि सम्मेलनका प्रमुख व्यक्तित्वका रूपमा सहभागी हुनेछन्।

प्रवासी नेपाली, राजनीति र विश्व अर्थतन्त्र जोड्ने मञ्च

एनआरएनए एसिया–प्रशान्त क्षेत्रको महत्वपूर्ण क्षेत्रीय सम्मेलनका रूपमा हेरिएको ‘आरोहण’मा नेपालका विभिन्न राजनीतिक धारका प्रतिनिधि, नीति निर्माता, व्यवसायी, विज्ञ तथा प्रवासी नेपाली समुदायका प्रतिनिधिहरू एउटै मञ्चमा सहभागी हुँदैछन्।

सम्मेलनले प्रवासी नेपालीको अधिकार र हित, नेपालमा लगानीको वातावरण, आर्थिक कूटनीति, व्यापार तथा उद्यमशीलता, ज्ञान–सीप हस्तान्तरण, प्रविधि र नेपालको समृद्धिका विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।

एनआरएनए एसिया–प्रशान्त समितिको आयोजनामा तथा एनआरएनए एनसीसी चीनको व्यवस्थापनमा हुने सम्मेलनले नेपाल र विश्वभर छरिएर रहेका नेपाली समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ।

📍 सम्मेलन एक नजरमा

  • कार्यक्रम: ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन–२०२६ (आरोहण)
  • मिति: अगस्ट १५–१६, २०२६
  • स्थान: क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर, ग्वाङ्झाउ, चीन
  • मूल नारा: Rising Together, Leading Forward
  • आयोजक: एनआरएनए एसिया–प्रशान्त कमिटी
  • व्यवस्थापन: एनआरएनए एनसीसी चीन

द टन न्युज ॥ एनआरएनए रिपोर्ट
विश्वभरका नेपाली गतिविधिको विशेष रिपोर्टिङ


प्रतिक्रिया