एनआरएनएमा मनोज कुमार श्रेष्ठलाई विपद् व्यवस्थापनको नेतृत्व

theoutsidenepal.com

द टन न्युज , काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण जिम्मेवारी मनोज कुमार श्रेष्ठ (गोर्खाली)लाई दिएको छ। संघको ११४औँ बैठकले आइसीसी उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई विपद् व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो।


सन् २०२५–२७ कार्यकालका लागि परोपकार तथा मानवीय सहायता विभागअन्तर्गत पर्ने यस जिम्मेवारीमा श्रेष्ठले विपद् व्यवस्थापनसम्बन्धी ठोस कार्ययोजना, रणनीति तथा कार्यविधि निर्माण गर्नुपर्नेछ। संघका अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवि खड्का द्वारा हस्ताक्षरित पत्रअनुसार उनलाई बढीमा २५ सदस्यीय समिति र ५ जना विज्ञ सल्लाहकार मनोनयन गरी अप्रिल १५ भित्र सिफारिस गर्ने अधिकारसमेत दिइएको छ।


१५ वर्षभन्दा बढी समयदेखि सामाजिक उद्यमशीलता र मानवीय सेवामा सक्रिय श्रेष्ठले विभिन्न विपद्का समयमा आफ्नो प्रभावकारी नेतृत्व देखाइसकेका छन्। २०१५ नेपाल भूकम्प का बेला लाप्राक र बारपाक पुगेर प्रत्यक्ष राहत वितरण गरेका उनले सन् २०२० को बाढी तथा २०१९ को बाराको हावाहुरी प्रभावित क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुर्‍याएका थिए।


त्यसैगरी, कोभिड–१९ महामारी का समयमा युएई सरकारसँग समन्वय गरी करिब २०० मिलियन रुपैयाँ बराबरको राहत तथा स्वास्थ्य सामग्री नेपाल पठाउन नेतृत्व गरेका श्रेष्ठलाई दुबईका राजकुमार शेख हम्दान बिन मोहम्मद अल मकतूम बाट ‘कोभिड–१९ हिरो अवार्ड’ समेत प्रदान गरिएको थियो। हालै जाजरकोट भूकम्पका बेला पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।


धादिङमा जन्मिएर दुबईलाई कर्मथलो बनाएका श्रेष्ठ एनआरएनएका पूर्व सचिव तथा मध्यपूर्व क्षेत्रीय संयोजकसमेत भइसकेका छन्। सामाजिक सेवासँगै उनले खेलकुद र शिक्षाको क्षेत्रमा पनि योगदान दिँदै आएका छन्। विपन्न चेपाङ समुदायका बालबालिकाका लागि विद्यालय स्थापना गर्नेदेखि आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए टोलीको सफल नेतृत्व उनले सम्हालेका थिए।


यसैबीच, जेनजी विद्रोह पछि काठमाडौं उपत्यका ट्राफिक नियन्त्रण कक्षको पुनर्निर्माणमा समेत श्रेष्ठको नेतृत्व उल्लेखनीय रहेको बताइएको छ।


उनको नियुक्तिसँगै एनआरएनएले विपद् व्यवस्थापन क्षेत्रमा अझ सशक्त र प्रभावकारी पहल गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया