गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रथम उपाध्यक्ष खगेन्द्र न्यौपाने लाई वैदेशिक रोजगार टास्कफोर्सको संयोजकमा नियुक्त गरिएको छ। सङ्घको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार उनलाई सन् २०२५–२०२७ कार्यकालका लागि उक्त जिम्मेवारी दिइएको हो।
एनआरएनएले न्यौपानेलाई वैदेशिक रोजगारसँग सम्बन्धित नीतिगत सुधार, श्रमिक अधिकारको संरक्षण तथा अन्तर्राष्ट्रिय समन्वयलाई प्रभावकारी बनाउने महत्वपूर्ण जिम्मेवारी दिएको जनाएको छ। यसअन्तर्गत उनले विस्तृत कार्ययोजना तयार पार्ने, दक्ष तथा अनुभवी सदस्यहरू समेटेर टास्कफोर्स गठन गर्ने र विभिन्न गन्तव्य मुलुकका निकाय तथा नेपाली कूटनीतिक नियोगहरूसँग सहकार्य गर्दै परिणाममुखी काम अघि बढाउनेछन्।
जिम्मेवारी सम्हाल्दै न्यौपानेले प्रवासमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, सम्मान र अधिकारलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले श्रम शोषण, असुरक्षित कार्यस्थल, न्यून पारिश्रमिक तथा कानुनी जटिलताजस्ता समस्यालाई प्राथमिकतामा राख्दै समाधानमुखी पहल गरिने बताए।
उनका अनुसार टास्कफोर्सले नीतिगत सुधारका लागि नेपाल सरकारसँग समन्वय गर्ने मात्र नभई गन्तव्य मुलुकहरूसँगको श्रम सम्झौताहरूलाई अझ प्रभावकारी बनाउने दिशामा काम गर्नेछ।
प्रवासी नेपाली समुदायमा न्यौपानेको नियुक्तिलाई अनुभवी, समन्वयकारी र परिणाममुखी नेतृत्वका रूपमा हेरिएको छ। लामो समयदेखि प्रवासमा सक्रिय रहेका उनीबाट वैदेशिक रोजगार क्षेत्रमा ठोस उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।
साथै, एनआरएनएभित्र एकता सुदृढ गर्दै विश्वभर रहेका नेपालीको साझा आवाजलाई अझ मजबुत बनाउने लक्ष्यसमेत उनको कार्ययोजनामा समेटिएको छ।
यो नियुक्तिसँगै एनआरएनएले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्याको समाधानका लागि संरचनागत तथा नीतिगत हस्तक्षेपलाई तीव्र बनाउने संकेत दिएको छ, जसले लाखौं नेपाली श्रमिकको जीवन र भविष्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।